जसलाई नियुक्ति गरे पनि विवादको फन्दामा पर्ने भएपछि संयोजकबाटै बाहिरिए भट्ट
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिका संयोजक गुणाकर भट्टले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत रहेका भट्टले स्वार्थको द्वन्द्व हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै समितिबाट बाहिरिने निर्णय गरेका हुन् । विशेषगरी धितोपत्र बोर्डको अध्यक्ष पदका लागि नाताले उनको दाइ पर्ने डा. गोपाल भट्टले आवेदन दिएपछि उनले राजीनामा बुझाएका हुन् ।
गोपाल र गुणाकर दुबै एकै परिवारका सदस्य हुन् । दाजुभाइका सन्तान अर्थात् भाइभाइका छोराहरु भए पनि गोपाल त्यो परिवारको बरिष्ठ र सम्मानित व्यक्ति हुन् । उनीहरु दुबै जनाको जन्मस्थलमात्रै होइन, काठमाडौँमा बसोबास पनि नजिकै छ । नेपाल राष्ट्र बैंकमा गोपाल पहिले नै हाकिम भइसक्दा गुणाकर तल्लो तहमा कार्यरत थिए ।
सुरुदेखि नै गुणाकरलाई गोपालले ‘यसो गर, यसो नगर’ भनेर केन्द्रीय बैंकको कामकाज सिकाउँदै आएका थिए । आफ्ना आदरणीय दाइलाई नियुक्तिको सिफारिस गर्नबाट गुणाकरले मुखफेर्न किन पनि कठीन थियो भने, विगतदेखि नै गोपालले सेबोन अध्यक्षमा दाबी गर्दै आएका थिए र उनीसँग पूँजीबजारकै सन्दर्भमा विद्यावारिधि गरेको शैक्षिक योग्यता पनि छ ।
तर, गोपाल भट्टमात्रै उनको राजिनामाको कारण होइन । गुणाकरलाई राम्रोसँग चिन्नेहरुको बुझाइमा उनी सकेसम्म विवादभन्दा टाढ बस्न रुचाउँछन् । राष्ट्र बैंकमा उनकै सहकर्मी रहेका र निकै घनिष्ठ सम्बन्ध रहेको ‘मीत्र’हरु पनि सेबोन अध्यक्षको प्रतिस्पर्धामा छन् । केन्द्रीय बैंकका पूर्व कर्मचारीमात्रै १४–१५ जनाले सेबोन अध्यक्षमा आवेदन दिएपछि तिनैमध्येबाट कोही एक जना नियुक्ति हुनसक्ने संभावना बढेको गुणाकरको बुझाइ हुनसक्छ ।
यस्तो अवस्थामा भविष्यमा ‘राष्ट्र बैंककै कर्मचारीलाई नियुक्त गराए’ भनेर आफूमाथि ‘हिलो छ्यापिन सक्ने’ जोखिम देखेका भट्टले अहिले नै यो नियुक्तिको प्रक्रियाबाट बाहिर निस्किएर आफ्नो सार्वजनिक शाख बढाउन उचित सम्झिएको उनका निकटवर्तीहरु बताउँछन् ।
सरकारले धितोपत्र बोर्डको नेतृत्व चयन गर्न योजना आयोगका उपाध्यक्ष भट्टको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा भुवन कुमार दाहाल रहेका थिए ।
यो समितिको मुख्य जिम्मेवारी आवेदन दिएका उम्मेदवारहरूमध्येबाट उपयुक्त तीन जनाको नाम छनोट गरी मन्त्रिपरिषद्मा सिफारिस गर्नु थियो । सोही सिफारिसका आधारमा सरकारले एक जनालाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने कानुनी प्रावधान रहेको छ ।
अध्यक्ष पदका लागि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्टसहित कुल ४७ जनाले आवेदन दिएका छन् । आफ्नै परिवारका सदस्य दाइ नै अध्यक्षको दौडमा उम्मेदवार बनेपछि छनोट प्रक्रियाको पारदर्शिता र निष्पक्षतामा प्रश्न नउठोस् भन्नका लागि संयोजक भट्टले पद छोडेको भन्ने विवरणहरु बाहिर आएका छन् ।
अब सरकारले सिफारिस समितिको नयाँ संयोजक नियुक्त गरेपछि मात्र रोकिएको नियुक्ति प्रक्रिया पुन: अघि बढ्नेछ ।













