सकिएको छैन महासंघको निर्वाचन, कोको छन् बाँकी प्रतियोगी ? - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

सकिएको छैन महासंघको निर्वाचन, कोको छन् बाँकी प्रतियोगी ?



काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको मुख्य चुनाव यसै हप्ता समापन भयो । निर्वाचनको सिलसिला अझै समाप्त भएको छैन । महासंघको संशोधित विधान कार्यान्वयन गर्ने वर्ष भएका कारण यो साल बरिष्ठ उपाध्यक्षको निर्वाचन पनि रोचक हुने भएको छ ।

विगतका केही वर्ष बरिष्ठ उपाध्यक्षको प्रत्यक्ष निर्वाचन गरेर जाने प्रणालीलाई यस पल्ट अन्त्य गरिएको छ । अब बहालवाला कार्यसमितिका सदस्यको मतदानबाट बरिष्ठ उपाध्यक्ष निर्वाचित गर्ने नयाँ परिपाटी थालनी हुँदै छ । महासंघको संशोधित विधानले अध्यक्ष समितको कार्यसमिति निर्वाचन गर्ने र त्यसै कार्यसमितिले बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्ने व्यवस्था गरेको छ ।

यसरी चयन गर्दा निर्वाचन पनि हुन सक्ने व्यवस्था छ, तर त्यो निर्वाचनमा केन्द्रीय कार्यसमिति सदस्यहरुले मात्रै मतदान गर्न पाउने छन् । यस्तो व्यवस्थाले अध्यक्षका लागि ‘अनुकुल पात्र’लाई बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्न सजिलो पारिदिएको छ ।

यसअघि बरिष्ठ उपाध्यक्षको उमेदवारका रुपमा आफूलाई अघि सारेको भनेर घोषणा नै गरेका हेमराज ढकाल अब यही कार्यसमितिभित्र पस्ने बाटो बन्द भएको छ । निवर्तमान अध्यक्ष चन्द्र ढकालको पृष्ठपोषणमा प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएको यो समूहले महासंघ निर्वाचनमा निकै खराब पराजय व्यहोरेपछि तत्कालका लागि हेमराजको बाटो बन्द भएको हो ।

भाष्करराज राजकर्णिकार र किशोर प्रधानजस्ता पात्र महासंघको बरिष्ठ उपाध्यक्षका लागि ‘सदावहार आकांक्षि’ हुन् । भाष्करले त यसअघि निर्वाचित अध्यक्ष प्रदीपजंग पाण्डेलाई बर्खास्त गर्नमा निकै ठूलो भूमिका खेलेको बताइन्छ । २५ वर्षभन्दा पुरानो एउटा मुद्दा उछालेर पाण्डेलाई अध्यक्षबाट हटाइए पनि पछि अदालतले उनलाई सफाइ दिएपछि धेरैले ‘झुठो मुद्दामा बदनियतपूर्ण तरिकाले अपदस्थ गरेको’ भनेर बुझेका थिए ।

उनै प्रदीपजंगका छोरा प्रबलजंग पाण्डे अहिले उपाध्यक्ष निर्वाचित भएका छन् । त्यतिमात्रै होइन, अध्यक्ष अञ्जन श्रेष्ठको प्यानल तयार पार्ने, निर्वाचनको रणनीति बनाउने र आफ्ना् प्यानललाई सोलोडोलो जीत निकाल्ने काममा पाण्डे प्रमुख रणनीतिकार हुन् । त्यसैले भाष्कर वा उनका निकटवर्तिहरु यो कार्यकालमा महासंघको ढोकाभित्र छिर्न सजिलो छैन । किशोर पनि सदावहार हुन् र उनलाई धेरैले गम्भिर रुपमा लिँदैनन् ।

त्यसैले अहिले बरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धामा दुई जना उमेदवार देखिएका छन्– पूर्व उपाध्यक्षहरु सुरकृष्ण वैद्य र रामचन्द्र संघाई ।

अध्यक्ष अञ्जन सुरकृष्णलाई बरिष्ठ उपाध्यक्ष बनाउन चाहिरहेको उनी निकटहरुको बुझाइ छ । तर प्रबलजंग पाण्डे लगायत उनको प्यानलका केही पदाधिकारी र सदस्यहरु भने रामचन्द्र संघाईलाई बरिष्ठ उपाध्यक्ष बनाउनु पर्ने मत राख्दै आएका छन् ।

संघाई तीन वर्ष अघिको निर्वाचनमा अञ्जनका प्रतिस्पर्धी थिए । त्यति बेला पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेका थिएनन् । अञ्जन श्रेष्ठले ३७.९९, उमेशलाल श्रेष्ठले ३१.७१ र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत प्राप्त गरेका थिए।

विधान अनुसार सबैभन्दा कम मत ल्याउने रामचन्द्र संघई प्रतिस्पर्धाबाट बाहिरिएपछि दोस्रो चरणमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुनुपर्ने थियो। तर, दोस्रो चरणको मतदान हुनुअघि नै उमेशलाल श्रेष्ठले अञ्जन श्रेष्ठलाई समर्थन गर्ने निर्णय गरेपछि अञ्जन श्रेष्ठ निर्विरोध वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका थिए, जसका कारण उनलाई आज अध्यक्ष बन्ने ढोका खुलेको थियो ।

यही कारण आफ्नो प्रतिस्पर्धी रहेका संघाईलाई भन्दा आफ्नो विस्वासपात्र रहेका वैद्यलाई बरिष्ठ उपाध्यक्ष बनाउने चाहनामा अञ्जन रहेको कतिपयको बुझाई छ । यसमा बीचको बाटो चाहीँ उमेशलाललाई बरिष्ठमा ल्याउनु पनि हुन सक्छ । तीन वर्ष अघिको गुन तिर्न अध्यक्ष अञ्जनले उमेशलाई बरिष्ठ उपाध्यक्षमा ल्याइदिन पनि सक्छन् । औषधि उद्यमीसमेत रहेका उमेशप्रति पाण्डेहरुको समूह पनि सकारात्मक रहेका कारण त्यो संभावना नकार्न नसकिने एकाथरी बताउँछन् ।

यद्यपि, चर्चामा देखिएका नाममध्ये सुरकृष्ण र संघाई नै ज्यादा सुनिँदै आएको छ ।

केही व्यवसायीहरुले भने साम्प्रदायिक कारणले पनि सुरकृष्णप्रति माहोल ढल्किनसक्ने बताउँछन् । आफ्ना साथिहरुले मारवाडी समुदायबाट बरिष्ठ उपाध्यक्षमा संघाईलाई ल्याउन जोडबल गरे पनि अध्यक्षले भने नेवार समुदायबाटै खोज्न सक्ने बुझाई केही व्यवसायीको छ । त्यो अवस्थामा वैद्यको सट्टा उमेश वा अर्को कुनै नाम पनि आउन सक्ने उनीहरु ठान्छन् ।

महासंघको नव निर्वाचित कार्यसमितिको पहिलो बैठक हिजो विहीबार बसेको छ । अब एक साताभित्र अर्को बैठक बसेर पदाधिकारी र सदस्यको नियुक्तिको प्रक्रिया अघि बढ्नसक्ने महासंघका अधिकारीहरुले बताएका छन् । त्यतिबेलै कोषाध्यक्षको चयन पनि हुन सक्ने संभावना छ । यसअघिका कोषाध्यक्ष भरतराज आचार्य पनि बरिष्ठ उपाध्यक्ष बन्नसक्ने दाबेदारका रुपमा कतिपयले हेरेका थिए । तर उनको संभावना पनि कमजोर भएको देखिएको छ ।

अघिल्लो कार्यकालमा उपाध्यक्षमा पराजित भएका आचार्यलाई चन्द्र ढकालले कोषाध्यक्ष नियुक्त गरेका थिए । यसपालीको निर्वाचन नै ‘अञ्जन श्रेष्ठ भर्सेस चन्द्र ढकाल’ भएको थियो । यो प्रतिस्पर्धामा चन्द्र ढकाल नराम्रोसँग पराजित हुन पुगे । पदाधिकारीमा एक जना उपाध्यक्ष र १–२ जना सदस्यबाहेक ९० प्रतिशतभन्दा बढी कार्यसमिति सदस्यहरु अञ्जनको प्यानलले जितेको छ । यस्तो अवस्थामा ढकालको विस्वासपात्र रहेको बताइने आचार्यको संभावना कमजोर भएको हो ।

के भन्छ विधान ?

महासंघको विधानले को र कस्तो मान्छेलाई बरिष्ठ उपाध्यक्ष चयन गर्ने भन्ने विषयमा तीन वटा ढोका खोलिदिएको छ ।

१. पूर्वपदाधिकारी : महासंघको विधान अनुसार अध्यक्ष, निवर्तमान अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू र कोषाध्यक्ष रहेको ‘पदाधिकारी समिति’ रहने व्यवस्था छ । त्यसैले यसअघि यिनै पदमा आशिन भइसकेकामध्ये कोही एक जना व्यक्ति सोझै बरिष्ठ उपाध्यक्षका लागि उमेदवार बन्न सक्ने छन् । उनीहरु वर्तमान कार्यसमितिमा नभए पनि बरिष्ठ उपाध्यक्षको उमेदवारी दिनबाट बञ्चित हुनु पर्ने छैन ।

२. निर्वाचित सदस्य : पदाधिकारीबाहेक कार्यसमितिमा अहिले निर्वाचित कुनै पनि सदस्यले बरिष्ठ उपाध्यक्षका लागि उमेदवारी दिन सक्ने छन् । यसमा उपाध्यक्षहरुदेखि सदस्यसम्मै योग्य हुने छन् । तर यसरी बरिष्ठ उपाध्यक्षमा उमेदवारी दिन अहिलेको कार्यसमितिमा भएरमात्रै पुग्दैन, यसअघि पनि ३ कार्यकाल सदस्य भइसकेको व्यक्ति हुनु पर्ने छ । महासंघमा यस्ता पात्रहरुको संख्या ठूलो छ ।

३. मनोनित सदस्य : महासंघको विधानले बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षजस्ता पदाधिकारीबाहेक पनि ७ जना सदस्य मनोनित गर्नुपर्ने व्यवस्था गरेको छ । अध्यक्षले चाहेमा कार्यसमितिबाट निर्णय गराएर पहिले ७ जना सदस्य नियुक्त गर्ने र त्यसपछि तीनैमध्येबाट योग्यता पुगेका (पहिले पनि ३ कार्यकाल सदस्य भइसकेका) कसैलाई बरिष्ठ उपाध्यक्षको उमेदवारका रुपमा खडा गर्न सक्ने छन् ।

यो तेस्रो विषयमा पनि हिजोको बैठकमा सामान्य कुराकानी भएको थियो । कम्तिमा पनि बरिष्ठ उपाध्यक्षको निर्वाचन प्रक्रियामा मनोनित सदस्यहरुलाई समेत समावेश गर्नुपर्ने भन्ने माग एक पक्षले उठाएका थिए । अर्काथरीले चाहीँ निर्वाचित सदस्यहरुले नै पदाधिकारीको टुंगो लगाएरमात्रै पूर्णस्तरको पदाधिकारी समितिबाट मनोनित गराउनु पर्ने धारणा राखेका थिए ।

यी दुबै विकल्पमा छलफल जारी छ । त्यसो त, बरिष्ठ उपाध्यक्षको निर्वाचन र कोषाध्यक्ष चयनदेखि ७ जना सदस्यको मनोनयन पनि एउटै बैठकले गर्न सक्ने संभावना पनि रहन्छ । यी भिन्न भिन्न कामका लागि फरक फरक मितिमा निर्णय हुन पनि सक्छन् ।

महासंघको विधानले अध्यक्षलाई ‘सर्वेसर्वा’ शक्तिशाली बनाएको छ । बाँकी सबै पदाधिकारी र सदस्यहरु सबैभन्दा पहिले ‘अध्यक्षप्रति जवाफदेही हुनुपर्ने’ भनेर विधानले नै लेखेको छ । यस प्रकारको अध्यक्षात्मक प्रणाली भएको संस्थामा अध्यक्षले समन्वय गर्न चाहेको विषयबाहेक अन्यथा निर्णय हुन सक्दैन । तसर्थ, कसलाई कहाँ मनोनित गर्ने वा उमेदवार बनाउने र जिताउने भन्ने कुरामा अध्यक्षको रुचीमा धेरै कुरा निर्भर हुने गर्छ ।


प्रतिक्रिया दिनुहोस्