सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा कोषमा ९७ प्रतिशतको छलाङ, नाफा ४ करोडमा सीमित - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा कोषमा ९७ प्रतिशतको छलाङ, नाफा ४ करोडमा सीमित



काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको वित्तीय सूचकहरूमा उतारचढाव देखिएको छ।

शुक्रबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार चैत मसान्तमा यस अवधिमा कम्पनीको नाफा ९१.१५ प्रतिशत घटेको छ। कम्पनीको कुल आम्दानीमा गिरावट आउनु र खर्च बढ्नुले नाफामा असर पारेको देखिन्छ।

साउनदेखि चैत मसान्तसम्मको अवधिमा सिद्धार्थ प्रिमियरले ४ करोड १ लाख रुपैयाँ मात्रै खुद नाफा कमाउन सफल भएको छ। गत आवको यसै अवधिमा कम्पनीले ४५ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि ठूलो गिरावट आएको छ। गत वर्ष २१ रुपैयाँ ५५ पैसा रहेको प्रतिशेयर आम्दानी अहिले घटेर १ रुपैयाँ ९१ पैसामा सीमित भएको छ।

यस अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब ९२ करोड २४ लाख रुपैयाँ रहेको छ, जुन गत वर्षको २ अर्ब १५ करोड ७८ लाख रुपैयाँको तुलनामा १०.९१ प्रतिशतले न्यून हो। लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ३१.९३ प्रतिशतले घटेर २४ करोड ८३ लाख रुपैयाँमा झरेको छ।

अर्कोतर्फ, कम्पनीको कुल खर्च भने २२.१६ प्रतिशतले बढेर १ अर्ब ८६ करोड ५१ लाख रुपैयाँ पुगेको छ। विशेषगरी कमिसन खर्च ८६.५३ प्रतिशतले वृद्धि भई ३ करोड ६८ लाख रुपैयाँ पुग्दा मुनाफामा थप दबाब सिर्जना भएको हो। समीक्षा अवधिमा कम्पनीले १ अर्ब ८३ करोड ३० लाख रुपैयाँ बराबरको कुल दाबी भुक्तानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४.३७ प्रतिशतले बढी हो।

नाफा घटे पनि कम्पनीको बीमा कोषमा भने उत्साहजनक सुधार देखिएको छ। गत वर्ष ५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ रहेको यस्तो कोष ९७.९६ प्रतिशतले बढेर ११ अर्ब १५ करोड ९९ लाख रुपैयाँ पुगेको छ।

समिक्षा कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ यथावत रहेको छ भने प्रतिशेयर नेटवर्थ २५० रुपैयाँ ६ पैसा कायम भएको छ। समीक्षा अवधिमा कम्पनीले कुल २ लाख ५ हजार ५९४ वटा बीमा पोलिसी जारी गरेको छ।


प्रतिक्रिया दिनुहोस्