खर्च र दाबी भुक्तानी बढ्दा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफामा पहिरो, ६ रुपैयाँमा झर्यो प्रतिशेयर आम्दानी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को नाफामा पहिरो गएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत वर्षको तुलनामा झण्डै ५० प्रतिशतले घटेको हो।
कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १३ करोड ३२ लाख १३ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २५ करोड १९ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको थियो। यो गत वर्षको तुलनामा ४७.१३ प्रतिशतको ठुलो गिरावट हो। कम्पनीको नाफा घट्नुमा दाबी भुक्तानी र खर्चको वृद्धि मुख्य कारण देखिएको छ।
नाफामा आएको गिरावटका कारण कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि सिधा असर परेको छ। गत वर्ष १२.८१ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी यो वर्ष ६.०४ रुपैयाँले घटेर ६.७७ रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ २३३ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८९.६३ गुणा कायम भएको छ।
यस्तै, चैत मसान्तसम्म कम्पनीको कुल दाबी भुक्तानी १८.७७ प्रतिशतले बढेर ३ अर्ब २ करोड ५९ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कुल खर्च पनि १०.९९ प्रतिशतले बढेको देखिन्छ। कम्पनीको अभिकर्ता कमिसन खर्च ९४.९६ प्रतिशतले बढेर ६ करोड ६८ लाख रुपैयाँ पुगेको छ, तर त्यसको तुलनामा व्यवसाय विस्तार भने सुस्त देखिएको छ। समीक्षा अवधिमा कम्पनीले २ लाख १ हजार ८३८ वटा बीमालेख जारी गरेको छ, जुन गत वर्षको तुलनामा केही कम हो।
कम्पनीको रिटेन्ड अर्निङमा ५९.३८ प्रतिशतको गिरावट देखिएको छ, जुन गत वर्ष ४६ करोड ३२ लाख रहेकोमा अहिले १८ करोड ८१ लाखमा खुम्चिएको छ। त्यस्तै, लगानी तथा कर्जाबाट हुने आम्दानीमा पनि ३६.६१ प्रतिशतको ह्रास आई १८ करोड ३९ लाख रुपैयाँमा झरेको छ।
यद्यपि, कम्पनीको केही सूचकमा भने सामान्य सुधार देखिएको छ। कम्पनीको बीमा कोषमा ११.२१ प्रतिशतको सुधार भई ७ अर्ब ४३ करोड पुगेको छ भने नेट अर्न्ड प्रिमियम पनि १४.०९ प्रतिशतले बढेर १ अर्ब ४७ करोड ४६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, महाविपत्ति जगेडामा पनि ६.२४ प्रतिशतको वृद्धि भई २२ करोड ६७ लाख रुपैयाँ कायम भएको छ।
















