त्रिभुवन विमानस्थलमा टर्किस एयरको जहाजको पांग्रामा आगलागी, २७७ यात्रुको उद्धार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरणको क्रममा टर्किस एयरलाइन्सको विमानमा आगो लागेको छ ।
साढे ६ बजे इस्तानबुलबाट–काठमाडौं आएको टर्किस एयरलाइन्स टिके–७२६ कल साइन भएको जहाजको मुख्य पांग्रामा अचानक आगो लागेकाे हाे ।
आगो दमकलक प्रयोग गरेर अहिले नियन्त्रणमा लिइएको छ भने विमानमा रहेका सबै यात्रुहरु सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ।
सो विमानमा चार बच्चासहित २७७ यात्रु थिए । यात्रुहरुलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको थियो ।
विमानमा आगो लागेपछि उद्धारका क्रममा केही यात्रुलाई सामान्य चोट लागेको छ । विमानमा केही शव र सामानहरु पनि रहेको छ ।
उक्त विमान धावनमार्गमै रोकिएपछि अहिले अन्तर्राष्ट्रिय उडान अवतरण प्रभावित भएको छ ।
विमान धावनमार्गमै अड्किएकाले अन्तर्राष्ट्रिय उडानका ठूला जहाजहरुको नियमित तालिका प्रभावित भएको छ ।













