बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद भर्ने आज अन्तिम दिन
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको चुक्ता पूँजी दोब्बर बनाउने प्रक्रिया अन्तर्गत निष्कासन गरिएको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम अवसर रहेको छ ।
कम्पनीले हाल कायम रहेको ४० करोड रुपैयाँ चुक्ता पूँजीमा शतप्रतिशत (१:१ को अनुपातमा) हकप्रद शेयर बिक्रीमा ल्याएको हो । यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता शेयर निष्कासन गरेको छ ।
यस हकप्रद शेयरमा सहभागी हुनका लागि माघ २९ गतेसम्म कायम रहेका साविक शेयरधनीहरू मात्र योग्य हुनेछन् । कम्पनीले गत चैत २२ गतेदेखि यो शेयर निष्कासन सुरु गरेको थियो । हाल ४० करोड रुपैयाँ पूँजी रहेको यस कम्पनीको हकप्रद शेयरको बाँडफाँड सम्पन्न भएपछि चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले सम्हालिरहेको छ । लगानीकर्ताको सुरक्षा र कम्पनीको अवस्थाका बारेमा जानकारी दिन इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडले यस कम्पनीलाई ’आईआरएन डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ, जसले मध्यम जोखिमको संकेत गर्दछ ।
















