संकटको घेरा चिर्दै लघुवित्तको ’सरप्राइज’ कमब्याक, ९ महिनामै साढे ५ अर्ब बढी नाफा - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

संकटको घेरा चिर्दै लघुवित्तको ’सरप्राइज’ कमब्याक, ९ महिनामै साढे ५ अर्ब बढी नाफा



काठमाडौं । नेपाली अर्थतन्त्रमा बाह्य क्षेत्र बलियो देखिए पनि आन्तरिक उत्पादन र मागमा आएको शिथिलताले बैंकिङ क्षेत्रलाई निकै गाह्रो बनाएको छ । त्यसमा पनि पछिल्लो दुई वर्ष त लघुवित्त क्षेत्रका लागि झन् अग्निपरीक्षा नै सावित भयो ।

एकातिर बढ्दो खराब कर्जा र अर्कोतिर सडकबाटै लघुवित्तविरुद्ध सुरु भएको आन्दोलनले यो क्षेत्रको अस्तित्वमाथि नै प्रश्न उठाएको थियो । तर, चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले भने एउटा सुखद र आश्चर्यजनक चित्र देखाएको छ । प्रतिकूल परिस्थितिका बाबजुद पनि लघुवित्त संस्थाहरूले आफ्नो ’साख’ जोगाउँदै नाफामा ३८ प्रतिशतको लोभलाग्दो फड्को मारेका छन् ।

चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म सञ्चालनमा रहेका ३३ वटा लघुवित्त संस्थाहरूले कूल ५ अर्ब ५१ करोड ६९ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत वर्षको सोही अवधिमा यी संस्थाहरुको सामूहिक नाफा ३ अर्ब ९८ करोड ७७ लाख ४३ हजार रुपैयाँ मात्र थियो ।

तथ्यांकको यो ऐनालाई हेर्दा के बुझ्न सकिन्छ भने चौतर्फी प्रहार र नीतिगत कडाइका बीच पनि लघुवित्तहरूले आफूलाई लयमा फर्काउन सफल भएका छन् । खराब कर्जा व्यवस्थापनमा गरेको मिहिनेत र खर्च कटौतीको नीतिका कारण समग्र नाफामा डेढ अर्बभन्दा बढीको बढोत्तरी देखिएको हो ।

नाफाको दौडमा को अगाडि, को पछाडि ?

लघुवित्तको यो भीडमा सधैँझैँ ’छिमेक लघुवित्त’ ले आफ्नो विरासत कायम राखेको छ। ९० करोड ६४ लाख ७६ हजार रुपैयाँ नाफा कमाउँदै छिमेक सबैभन्दा बढी नाफा गर्ने संस्था बनेको छ । गत वर्ष ८५ करोड ३५ लाख ५० हजार नाफा कमाएको छिमेकले यसपालि ६.२० प्रतिशतले वृद्धि गरेको छ ।

छिमेकलाई पछ्याउँदै डिप्रोक्स लघुवित्तले ६८ करोड १ लाख ३२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ भने जीवन विकास लघुवित्त ६२ करोड ६९ लाख २७ हजार रुपैयाँसहित तेस्रो स्थानमा सुरक्षित देखिएको छ ।

तर, सबैको चित्र एउटै छैन । नाफाको यो उकालो यात्रामा कतिपय संस्थाहरू भने अझै भुइँमै सङ्घर्ष गरिरहेका छन् । तथ्यांकको पुछारमा मानुषी लघुवित्त देखिएको छ । जसको नाफा मात्र १३ लाख १७ हजार रुपैयाँ छ ।

त्यस्तै, युनिक नेपाल लघुवित्तले १३ लाख ५३ हजार र कालिका लघुवित्तले १४ लाख ७१ हजार रुपैयाँ मात्र नाफा कमाउन सकेका छन् । यी संस्थाहरूका लागि करोडको आँकडा छुनु अझै पनि चुनौतीपूर्ण देखिएको छ । अर्बौँको पोर्टफोलियो चलाउने संस्थाहरूको नाफा लाखमा सीमित हुनुले उनीहरूको व्यावसायिक दक्षतामाथि अझै प्रश्न बाँकी नै रहेको सङ्केत गर्दछ ।

ग्रोथमा इन्फिनिटी र एनआईसी एशियाको छलाङ

यो वर्षको वित्तीय विवरणमा सबैभन्दा रोचक पक्ष भनेको नाफाको वृद्धिदर (ग्रोथ) हो । कतिपय साना लघुवित्तले प्रतिशतको आधारमा यति ठूलो फड्को मारेका छन् कि त्यसले जो कोहीलाई अचम्ममा पार्छ ।

इन्फिनिटी लघुवित्त यसको प्रमुख उदाहरण बनेको छ । गत वर्ष ६ लाख ६१ हजार रुपैयाँ मात्र नाफा कमाएको यस संस्थाले यो वर्ष ७ करोड ५७ लाख ८२ हजार रुपैयाँ कमाएको छ । प्रतिशतका आधारमा यो ११ हजार ३६४ प्रतिशतको वृद्धि हो । यद्यपि, यो वृद्धिलाई धेरै सानो आधार बाट भएको सुधारका रूपमा बुझ्न जरुरी छ ।

त्यस्तै, एनआईसी एशिया लघुवित्तको नाफामा पनि चामत्कारिक सुधार देखिएको छ । गत वर्ष मात्र १ लाख २९ हजार ८ सय रुपैयाँ नाफा कमाएको यस संस्थाले यसपालि १० करोड ६९ लाख १६ हजार रुपैयाँ आर्जन गर्दै ८ हजार १३६ प्रतिशतको ग्रोथ देखाएको छ ।

अर्कोतर्फ, केही स्थापित नामहरूका लागि भने यो ९ महिना सुखद रहेन । निर्धन उत्थान लघुवित्तको नाफा ६७.७४ प्रतिशतले घटेर १५ करोड ५० लाखमा खुम्चिएको छ भने कालिका लघुवित्तको नाफा ७८ प्रतिशतले घटेको छ ।

अचम्मको कुरा त नेस्डो समृद्ध र सामुदायिक लघुवित्तको छ । नेस्डो समृद्ध गत वर्ष ११ करोड ६० लाख घाटामा थियो, तर यसपालि १४ करोड २२ लाख नाफा कमाउँदै ’कमब्याक’ गरेको छ ।

लघुवित्त क्षेत्रले संकटको बादल बिस्तारै फाट्दै गरेको सन्देश दिएको छ । तर, लाखबाट करोडको यात्रा तय गरिरहेका साना संस्थाहरू र नाफा घट्दै गएका ठूला संस्थाहरूका लागि आगामी दिन अझै पनि सतर्कतापूर्वक अघि बढ्नुपर्ने देखिन्छ ।

बजारमा तरलता सहज हुँदै जानु र ब्याजदर घट्नुले लघुवित्तहरूलाई केही राहत त दिएको छ । तर ग्रामीण भेगका ऋणीहरूको भुक्तानी क्षमतामा सुधार नआएसम्म यो नाफाको दिगोपनामा ढुक्क हुने अवस्था भने छैन ।


प्रतिक्रिया दिनुहोस्