नीति तथा कार्यक्र : सेयर बजारमा पेन्सन कोष र एनआएन सहभागि घोषणा
काठमाडौं । पूँजी बजारलाई थप विस्तार र सुदृढ बनाउन सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा विशेष योजना अघि सारेको छ ।
संघीय संसदमा आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको सेयर बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली (एनआरएन) हरूको सहभागिता सुनिश्चित गरिने घोषणा गरेका छन् । यसका साथै बीमा र म्युचुअल फन्ड जस्ता संस्थागत लगानीकर्ताहरूको पहुँचलाई पनि बजारमा अझ व्यापक बनाइने लक्ष्य राखिएको छ ।
सरकारले सेयर बजारलाई सुरक्षित प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बनाउने प्रतिबद्धता जनाएको छ । यसका लागि धितोपत्र नियमन प्रणाली, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र क्लियरिङ प्रणालीमा आवश्यक पुनर्संरचना गरिने नीतिमा उल्लेख छ । यस्तो संरचनात्मक सुधारले बजारको विश्वसनीयता बढाउन र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
पूँजी बजारको विविधीकरणका लागि सरकारले ऋणबजार र बन्ड बजारको विकासमा पनि जोड दिएको छ । खासगरी पूर्वाधार बन्ड र ऋणपत्रहरूको विकास मार्फत देशको विकासका लागि आवश्यक दीर्घकालीन पूँजी निर्माण गर्ने रणनीति सरकारले लिएको छ । यी कदमहरूले नेपाली पूँजी बजारलाई थप आधुनिक र गतिशील बनाउँदै देशको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।













