५ हजार होमस्टेको आफ्नै ब्राण्ड: २०८५ सम्ममा विश्वका पर्यटकलाई ‘देवभूमि’ निम्त्याउने संकल्प
काठमाडौं । पर्यटनलाई विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत मान्दै सरकारले ’भिजिट नेपाल २०८५’ को तयारी सुरु गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मुलुकभरका ५ हजार होमस्टेलाई ’नेपाल होमस्टे’ ब्राण्डमा आबद्ध गरी अन्तर्राष्ट्रिय बुकिङ प्लेटफर्ममा जोडिने बताएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्थानीय स्तरमा सिधै विदेशी मुद्रा पुर्याउने लक्ष लिएको छ । नेपाललाई ’देवभूमि’का रूपमा विश्वभर चिनाउन आध्यात्मिक र साहसिक पर्यटनको एकीकृत विकास गरिनेछ । लुम्बिनी, पशुपति र मुक्तिनाथ जस्ता क्षेत्रलाई धार्मिक कूटनीतिको केन्द्र बनाउँदै पर्यटकको बसाई लम्ब्याउने र खर्च बढाउने गरी पूर्वाधार निर्माणमा जोड दिइएको छ ।












