सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा सुधार, आम्दानी १९.७८ प्रतिशतले बढ्यो
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आफ्नो वित्तीय स्थितिमा बलियो सुधार ल्याएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ३६ प्रतिशतले वृद्धि भई २४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यो कोष १८ अर्ब रुपैयाँ मात्र रहेको थियो
।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा सामान्य वृद्धि भई ३६ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले ३५ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको समग्र आम्दानी १९.७८ प्रतिशतले बढेर ७ अर्ब ५६ करोड रुपैयाँ नाघेको छ । अघिल्लो वर्ष कम्पनीको खुद आम्दानी ६ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो । लगानी र बीमा पोलिसी धितोमा प्रवाह भएको कर्जाबाट प्राप्त आम्दानी बढ्नाले समग्र राजस्वमा सकारात्मक प्रभाव परेको देखिन्छ ।
व्यवसाय प्रवद्र्धन र कर्मचारी व्यवस्थापनका कारण कम्पनीको खर्च पनि २०.९२ प्रतिशतले बढेर ७ अर्ब २० करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ९.६० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १३१.१७ रुपैयाँ कायम भएको छ । गत वर्ष प्रतिशेयर आम्दानी ९.५४ रुपैयाँ रहेको थियो । कम्पनीको बीमा पोलिसी संख्यामा भने केही गिरावट आएको छ । गत वर्ष १० लाख १५ हजार पोलिसी कायम रहेकोमा यस वर्षको नौ महिनामा ७ लाख ८८ हजार वटा पोलिसी मात्र कायम देखिएको छ ।
बजारमा ब्याजदर घट्ने जस्ता प्रतिकूल अवस्थाहरूका बाबजुद कम्पनीले आफ्नो कुशल व्यवस्थापनका कारण आम्दानी वृद्धि गर्न सफल भएको छ । जीवन बीमा कोषको आकारमा भएको यो उल्लेख्य वृद्धिले कम्पनीको जोखिम बहन गर्ने क्षमता र वित्तीय स्थिरता थप मजबुत भएको सङ्केत गर्दछ ।













