सानिमा जिआईसी इन्स्योरेन्सको ९ महिनाको नाफा ५ करोड १३ लाख, अन्य सूचक कस्तो ?
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्ममा ५ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो । जसको तुलनामा यस वर्ष नाफामा ७८ प्रतिशतले कमी आएको छ । नाफा घटे पनि समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन भने सकारात्मक देखिएको छ ।
गत वर्ष ४९ करोड ५२ लाख रुपैयाँ रहेको खुद बीमा शुल्क बढेर यस वर्ष ५३ करोड ४३ लाख रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको कुल बीमा शुल्क पनि १ अर्ब ६८ करोड ५६ लाखबाट वृद्धि भई १ अर्ब ९७ करोड २३ लाख रुपैयाँ पुगेको विवरणमा उल्लेख छ ।
कम्पनीको आम्दानी र खर्चको सन्तुलनमा केही चाप देखिएको छ । गत वर्ष १ अर्ब २ करोड ६४ लाख रुपैयाँ रहेको कुल आम्दानी घटेर यस वर्ष ९० करोड १० लाख रुपैयाँमा खुम्चिएको छ । अर्कोतर्फ, कम्पनीको कुल खर्च ६९ करोड २८ लाख रुपैयाँबाट बढेर ८२ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।
नाफा घटेसँगै प्रति शेयर आम्दानी (ईपीएस) मा पनि ठूलो गिरावट आएको छ । गत वर्ष १५ रुपैयाँ ५७ पैसा रहेको ईपीएस अहिले ३ रुपैयाँ १९ पैसामा सीमित हुन पुगेको छ भने मूल्य आम्दानी अनुपात १५५.५ गुणा कायम भएको छ । कम्पनीको प्रति शेयर नेटवर्थ भने १ सय ५३ रुपैयाँ ४ पैसा रहेको छ ।
वित्तीय अवस्थालाई हेर्दा कम्पनीको कुल सम्पत्तिमा सुधार देखिएको छ । गत आर्थिक वर्षको अन्त्यमा ८ अर्ब १८ करोड १२ लाख रुपैयाँ रहेको कुल सम्पत्ति बढेर ८ अर्ब ८८ करोड ६० लाख रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोष १ अर्ब ९२ करोड ७५ लाख रुपैयाँ पुगेको छ भने २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ ।
यसका साथै कम्पनीको महाविपत्ति कोषमा ४ करोड ८५ लाख रुपैयाँ र स्पेशल रिजर्भमा ७७ करोड ५२ लाख रुपैयाँ सञ्चित रहेको छ । हाल कम्पनीले ३ अर्ब ३५ करोड ८२ लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको विवरणले देखाउँछ ।
















