‘प्रतिष्ठित निर्माण व्यवसायीहरूलाई कानून विपरित गरिएको धरपकड निन्दनीय’ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

‘प्रतिष्ठित निर्माण व्यवसायीहरूलाई कानून विपरित गरिएको धरपकड निन्दनीय’



काठमाडौं । मुलुकमा झण्डै दुई तिहाइको सरकार गठनपछि राजनीतिक स्थिरता कायम भई देशको पूर्वाधार विकासले द्रुत गति लिई अर्थतन्त्रलाई चलायमान बनाउने गरी लगानीको वातावरण बन्ने अपेक्षा गरिएको समयमा प्रतिष्ठित एवं अग्रज निर्माण व्यवसायीहरूमाथि प्रहरी प्रशासनबाट निरन्तर भइरहेको धरपकड र थुनछेकप्रति यस महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

पछिल्लो पटक इन्धन तथा निर्माण सामाग्रीहरूमा भइरहेको अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धिका कारण राज्यले समयमै मूल्य समायोजन नदिँदा निर्माण कार्यहरू गर्न सक्ने अवस्था नभएको, निर्माण व्यवसायीहरूलाई ठूलो आर्थिक एवं मानसिक दबाबमा परेकै बखत व्यवसायीहरूलाई राहत दिनुको सट्टा सार्वजनिक खरिद ऐन, नियम र खरिद सम्झौताका सर्त विपरित गरिएको धरपकड निन्दनीय महासंघले बताएको छ ।

‘महासंघ सरकारको यस किसिमको गैर कानूनी कार्यप्रति खेद प्रकट गर्दछ’ विज्ञप्तीमा भनिएको छ, ‘अनुसन्धान पश्चात दोषी प्रमाणित भए जो कोही पनि प्रचलित ऐन, कानून अनुसार दण्डित हुनैपर्छ भन्ने मान्यता यस महासंघको रहेकोमा नेपालको संविधानले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने व्यवस्थाप्रति यस महासंघ सबैलाई पुन: स्मरण गराउन चाहन्छ ।’

यसरी निर्माण उद्योग लगायत निजी क्षेत्रका उद्यमीलाई त्रसित एवं आतंकित पारिएको अवस्थामा अर्थतन्त्र, रोजगारी, राजश्व एवं पूर्वाधार निर्माणमा समेत गम्भीर असर पर्ने महाघंले बताएको छ । महासंघ सरकारले अब फेरि निर्माण व्यवसायीहरूमाथि विना कुनै ठोस आधार तथा प्रमाण धरपकड तथा थुनछेक गर्ने कार्य गरेमा कडा कदम चाल्न बाध्य हुने व्यहोरा अवगत महासंघले जराएको छ ।


प्रतिक्रिया दिनुहोस्