झण्डै १० प्रतिशतले बढ्यो नेपाल टेलिकमको खुद मुनाफा, प्रतिशेयर आम्दानी कति ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

झण्डै १० प्रतिशतले बढ्यो नेपाल टेलिकमको खुद मुनाफा, प्रतिशेयर आम्दानी कति ?



काठमाडाैं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक विवरण अनुसार कम्पनीको सञ्चालन आय र खुद मुनाफा दुवैमा उल्लेख्य सुधार देखिएको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले कुल सञ्चालन आय रु. २५ अर्ब ९२ करोड ९६ लाख आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.४२ प्रतिशत अर्थात् रु. ६१ करोड २० लाखले बढी हो।

कम्पनीको कुल आयमा पनि वृद्धि देखिएको छ। यस अवधिमा टेलिकमले कुल रु. २८ अर्ब ८५ करोड ४८ लाख आम्दानी गरेको छ। यो गत वर्षको सोही अवधिको कुल आय रु. २८ अर्ब ४३ करोड १५ लाखको तुलनामा १.४९ प्रतिशतले बढी हो। आयमा भएको यो वृद्धिले कम्पनीको व्यावसायिक गतिविधिमा सकारात्मक प्रभाव परेको संकेत गर्दछ।

मुनाफाको पक्षलाई हेर्दा नेपाल टेलिकमले उल्लेख्य प्रगति हासिल गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म कम्पनीको खुद मुनाफा रु. ६ अर्ब २७ करोड २९ लाख पुगेको छ। यो गत वर्षको तुलनामा ९.८५ प्रतिशत अर्थात् रु. ५६ करोड २४ लाखले बढी हो। मुनाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएर रु. ४६.४७ कायम भएको छ, जुन गत वर्ष रु. ४२.३ रहेको थियो।

कम्पनीको वित्तीय स्वास्थ्य मापन गर्ने महत्त्वपूर्ण सूचक ‘इबिडा’ रु. १४ अर्ब ३८ करोड २ लाख रहेको छ। राजश्व र मुनाफामा परिवर्तन आउनुमा विभिन्न प्राविधिक तथा बजारजन्य कारणहरू रहेका छन्। विशेषगरी जिएसएम (GSM) सेवातर्फको राजश्वमा ५७ करोड ७४ लाखले वृद्धि हुनु र ह्रासकट्टी खर्चमा करिब ८.४६ प्रतिशतले कमि आउनुले खुद मुनाफा बढाउन सहयोग पुर्याएको देखिन्छ।

यद्यपि, बैंक तथा वित्तीय संस्थाहरूमा निरन्तर घट्दै गएको ब्याजदरका कारण कम्पनीको वित्तीय आम्दानीमा भने केही असर परेको छ। गत वर्षको तुलनामा कम्पनीको ब्याज आम्दानी करिब २०.५७ प्रतिशत अर्थात् रु. ५७ करोड ६६ लाखले घटेको विवरणमा उल्लेख छ। यसका बाबजुद सञ्चालन आय र अन्य खर्च व्यवस्थापनमा आएको सुधारले समग्र वित्तीय नतिजालाई उत्साहजनक बनाएको छ।


प्रतिक्रिया दिनुहोस्