सडकमा ‘जेन–जी’ को राप, बीमामा दाबीको चाप: निर्जीवन बीमा कम्पनीको नाफामा ४७ प्रतिशतको पहिरो
काठमाडौं । कुनै समय लगानीकर्ताका लागि सुरक्षित र आकर्षक गन्तव्य मानिने निर्जीवन बीमा क्षेत्र अहिले निकै सकसपूर्ण मोडबाट गुज्रिरहेको छ । मुलुकको आर्थिक सुस्तता र बदलिँदो सामाजिक–राजनीतिक परिवेशको बाछिटा बीमा कम्पनीहरूको वासलातमा प्रस्टै देखिन थालेको छ ।
पछिल्लो समय सडकमा देखिएको ’जेन–जी’ पुस्ताको आन्दोलन र मनसुनसँगै निम्तिएको प्राकृतिक विपत्तिका कारण दाबी भुक्तानीको चाप बढ्दा निर्जीवन बीमा कम्पनीहरूको नाफामा निकै ठूलो गिरावट आएको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनलाई केलाउँदा समग्र निर्जीवन बीमा क्षेत्रको नाफामा झन्डै आधा अर्थात् ४७.२३ प्रतिशतले संकुचन आएको छ । अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४१ करोड ३ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएका १४ कम्पनीहरूले यसपालि जम्मा १ अर्ब २७ करोड १९ लाख रुपैयाँमा चित्त बुझाउनु परेको छ ।
यो तथ्याङ्कले बीमा बजारमा दाबीको राप कति चर्को छ भन्ने संकेत गर्छ । विशेषगरी पछिल्ला राजनीतिक अस्थिरता र सडक प्रदर्शनका क्रममा भएका भौतिक क्षति तथा बाढी–पहिरोजस्ता विपत्तिले बीमा कम्पनीहरूको नाफाको जग नै हल्लाइदिएको छ ।

नाफाको दौड: को अगाडि, को पछाडि ?
बीमा बजारको यो प्रतिकूल मौसममा पनि केही कम्पनीले भने आफूलाई सन्तुलित राख्ने प्रयास गरेका छन् । तथ्याङ्क अनुसार ‘ओरिएन्टल इन्स्योरेन्स’ नाफा कमाउने सूचीको पहिलो नम्बरमा देखिएको छ । अघिल्लो वर्ष १३ करोड ८३ लाख रुपैयाँ नोक्सानीमा रहेको यो कम्पनीले यसपालि ३० करोड ६६ लाख रुपैयाँ नाफा कमाउँदै लोभलाग्दो पुनरागमन गरेको छ ।
त्यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी २८ करोड ८९ लाख रुपैयाँ नाफाका साथ दोस्रो स्थानमा छ भने प्रभु इन्स्योरेन्स २१ करोड १५ लाख रुपैयाँ नाफा कमाउँदै तेस्रो स्थानमा उक्लिएको छ ।
तर, सबैको अवस्था यस्तो सुखद छैन । अर्कोतर्फ हेर्ने हो भने नेसनल इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सको अवस्था भने निकै निराशाजनक देखिएको छ । नेसनल इन्स्योरेन्स १७ करोड ६४ लाख रुपैयाँभन्दा बढीले घाटामा छ भने युनाइटेड अजोड ६ करोड ९७ लाख रुपैयाँ नोक्सानीमा गएको छ ।
यी कम्पनीहरूले दाबी भुक्तानी र व्यवस्थापन खर्चलाई सन्तुलनमा राख्न नसक्दा समग्र नाफा प्रभावित भएको देखिन्छ । बजारका ठूला खेलाडी मानिने सिद्धार्थ प्रिमियर, एनएलजी र शिखर इन्स्योरेन्सको नाफा पनि सोचेजस्तो सन्तोषजनक छैन, जसले समग्र बजारकै आत्मविश्वासमा केही प्रश्न उठाएको छ ।
ग्रोथमा पहिरो: ९९ प्रतिशतसम्मको गिरावट
नाफाको दर (ग्रोथ) लाई हेर्ने हो भने त झन् भयावह चित्र देखिन्छ । ओरिएन्टल इन्स्योरेन्सले आफ्नो घाटालाई नाफामा परिणत गरेर सबैलाई चकित बनाए पनि अन्य कम्पनीहरूको ग्रोथ रेट रातो रङले भरिएको छ ।
प्रभु इन्स्योरेन्स मात्रै एउटा यस्तो कम्पनी हो । जसले ५.६३ प्रतिशतको झिनो भए पनि नाफा वृद्धिदर कायम गर्न सफल भएको छ । बाँकी सबै कम्पनीको नाफाको वृद्धिदर ओरालो लागेको छ ।
सबैभन्दा ठूलो धक्का आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सलाई लागेको छ । जसको नाफा ९९.८३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष २६ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको यो कम्पनीले यसपालि जम्मा ४ लाख ३८ हजार रुपैयाँ मात्र नाफा देखाउन सकेको छ ।
त्यस्तै, सिद्धार्थ प्रिमियरको नाफा ९१.१५ प्रतिशत, शिखरको ८०.२३ प्रतिशत र सानिमा जीआईसीको ७८ प्रतिशतले खुम्चिएको छ ।
यो गिरावटको मुख्य कारण ‘जेन–जी’ पुस्ताको आन्दोलनका क्रममा भएको सवारी साधनको तोडफोड र आगजनीको दाबी, अनि मनसुनजन्य प्रकोपका कारण जलविद्युत आयोजना र भौतिक पूर्वाधारमा पुगेको क्षतिलाई मानिएको छ ।
बीमा विज्ञहरूका अनुसार जब सडकमा आन्दोलन चर्कन्छ र प्राकृतिक विपत्ति आउँछ, त्यसको प्रत्यक्ष आर्थिक भार बीमा कम्पनीहरूमाथि नै पर्ने गर्छ । दाबी भुक्तानीको अनुपात बढ्दै जाने तर व्यवसाय विस्तारको दर सुस्त रहने भएपछि कम्पनीहरूको नाफामा यस्तो ‘पहिरो’ देखिएको हो ।
निर्जीवन बीमा कम्पनीहरूका लागि यो वर्ष अग्निपरीक्षाको वर्ष सावित भएको छ । सामाजिक र वातावरणीय जोखिम बढ्दै जाँदा बीमा कम्पनीहरूले आफ्नो जोखिम मूल्यांकन र दाबी व्यवस्थापन रणनीतिलाई पुनरावलोकन गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ । अन्यथा आगामी दिनमा नाफाको यो सुकेको मुहान झन् कष्टकर बन्दै जाने निश्चित छ ।
















