सीईओ पाण्डे पक्राउको विषयमा एनआईएमबीको स्पष्टीकरण: ‘घर वाहाल र बिजुलीको पैसा सुरक्षित छ’
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई नियन्त्रणमा लिएपछि बैंकले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ।
बैंकले बुधबार साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रिया र त्यससँग जोडिएका विवादका बारेमा स्पष्ट पारेको हो। सीआईबीले पाण्डेलाई ऋणी स्मार्ट टेलिकमको सम्पत्ति लिलाम गर्दा घरधनीहरूलाई तिर्नुपर्ने घर वाहाल र विद्युत् महसुल भुक्तान नगरेको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो।
बैंकले भने यो प्रक्रिया प्रचलित ऐन, कानुन र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को पूर्ण पालना गरेरै अघि बढाइएको दाबी गरेको छ।
विशेष गरी धेरैको चासोको विषय बनेको स्मार्ट टेलिकमका उपकरणहरू राखिएका घर तथा जग्गाको भाडा र बिजुलीको महसुलका बारेमा बैंकले सर्वसाधारण र सरोकारवालालाई आश्वस्त पारेको छ। बैंकका अनुसार लिलामीबाट प्राप्त भएको कुल रकममध्ये झण्डै ३८ करोड रुपैयाँ अहिले पनि बैंकको छुट्टै खातामा सुरक्षित राखिएको छ। यो रकम विशेष गरी ती घरधनीहरूको बाँकी रहेको वाहाल र बिजुलीको पैसा तिर्नकै लागि छुट्याइएको बैंकले उल्लेख गरेको छ।
स्मार्ट टेलिकमको लिलामीबाट कुल ४ अर्ब ६० करोड रुपैयाँ प्राप्त भएकोमा ४ अर्ब २२ करोड रुपैयाँ बैंकको कर्जा चुक्ता गर्न प्रयोग गरिएको र बाँकी रहेको रकम सरकारी निकायको खाता रोक्का आदेशका कारण सुरक्षित राखिएको विज्ञप्तीमा जनाइएको छ। सम्बन्धित निकायहरूबाट आवश्यक प्रमाण सहित भुक्तानीका लागि अनुरोध आएलगत्तै त्यो रकम क्रमिक रूपमा सम्बन्धित व्यक्तिहरूलाई बुझाइने बैंकको भनाइ छ।
आफ्नु प्रमुख कार्यकारी अधिकृतमाथि भइरहेको अनुसन्धानमा बैंकले पूर्ण सहयोग गरिरहेको र भविष्यमा पनि गर्ने प्रतिबद्धता जनाएको छ। बैंकले यसअघि नै अनुसन्धानका लागि आवश्यक सबै कागजात र विवरणहरू प्रहरीलाई उपलब्ध गराइसकेको स्पष्ट पारेको छ। निक्षेपकर्ताको पैसा सुरक्षित राख्नु र कर्जा असुल गर्नु बैंकको कानुनी दायित्व भएको भन्दै बैंकले आफ्नो कदमको बचाउ गरेको छ।
सीईओ पाण्डे पक्राउ परे पनि बैंकको दैनिक कामकाजमा कुनै असर नपर्ने बैंकले बताएको छ। वित्तीय सुशासन, निक्षेपकर्ताको हित र ग्राहक सेवालाई उच्च प्राथमिकतामा राखेको भन्दै बैंकले आफ्ना सेयरधनी र ग्राहकहरूलाई विचलित नहुन आग्रह गरेको छ। बैंकले नेपाल राष्ट्र बैंक र आफ्ना शुभेच्छुकहरूबाट पाइरहेको सहयोगप्रति आभार प्रकट गर्दै बैंकको विश्वसनीयतामा कुनै आँच आउन नदिने संकल्प समेत दोहोर्याएको छ।













