ऋण असुली गरेकै कारण सीईओ पक्राउ परेपछि बैंकर्स संघको आकस्मिक बैठक बस्दै
काठमाडौँ । नेपाल बैंकर्स संघको आकस्मिक बैठक अहिले बसिरहेको छ । विहान ९ बजेदेखि नै बैठक सुरु भएको संघका अध्यक्ष सन्तोष कोइरालाले अर्थपथलाई जानकारी दिए ।
स्मार्ट टेलिकम प्रालिले धितो राखेर लिएको ऋण नतिरेपछि ऋणीको मञ्जुरीमा धितो लिलाम गरिएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले मंगलबार राती नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई पक्राउ गरेको थियो ।
यस घटनाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन र सुरक्षित कारोबार ऐनको बर्खिलाप भएको तथा बैंकरहरुमा त्रास फैलिएको भन्दै ‘सामुहिक धारणा बनाएर अघि बढ्न’ बैठक डाकिएको संघले जनाएको छ ।
यस्तै, उक्त घटनाका सम्बन्धमा छलफल गर्न भनेर बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुको संगठन नेपाल बैंक तथा वित्तीय संस्था परिसंघले पनि छलफल गर्ने भएको छ ।













