इप्पानलाई लाग्यो चुनाव : उत्तम भ्लोन वरिष्ठ उपाध्यक्षको नेतृत्वमा प्यानल घोषणा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

इप्पानलाई लाग्यो चुनाव : उत्तम भ्लोन वरिष्ठ उपाध्यक्षको नेतृत्वमा प्यानल घोषणा



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी तीव्र रूपमा बढेको छ । इप्पानका वर्तमान उपाध्यक्ष उत्तम भ्लोनले आगामी जेठ २९ गते हुने साधारण सभा र निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच भ्लोनले आफ्नो नेतृत्वमा सशक्त प्यानल र आगामी तीन वर्षका लागि रणनीतिक मार्गचित्र ‘इप्पान भिजन २०२९’ सार्वजनिक गरेका हुन् । इप्पानमा वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालका लागि स्वत: अध्यक्ष हुने प्रावधान रहेकाले यो पदलाई अत्यन्तै महत्वका साथ हेरिएको छ ।

भ्लोनको नेतृत्वमा घोषणा गरिएको प्यानलमा ऊर्जा क्षेत्रका अनुभवी व्यक्तित्वहरू समेटिएका छन् । उपाध्यक्ष पदका लागि उत्तरकुमार श्रेष्ठ, हिम पाठक, सुसन कर्माचार्य र बिक्रम विष्ट उम्मेदवार रहेका छन् ।

त्यसैगरी, महासचिवमा टिएन आचार्य, उपमहासचिवमा कविता कडेल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तलाई अघि सारिएको छ । कार्यसमितिको सचिव पदका लागि विजयमोहन भट्टराई, कुवेरमणि नेपाल, सुमन जोशी, शंकर बस्याल र अविज्ञा मल्ल चुनावी मैदानमा छन् भने सदस्यहरूमा अनुप आचार्य, जगतबहादुर पोखरेल, कदम केसी, वर्णद लामिछाने, इसा श्रेष्ठ र प्रतिमा ज्ञवाली रहेका छन् ।

‘भिजन २०२९’ को मुख्य मार्गचित्र र एजेण्डा उम्मेदवारी घोषणाका क्रममा भ्लोनले सार्वजनिक गरेको ‘इप्पान भिजन २०२९’ मा नेपालको ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको मुख्य आधार बनाउने संकल्प गरिएको छ । सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको सन्दर्भमा यसका लागि करिब ५० खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने र यसमा निजी क्षेत्रको भूमिका निर्णायक हुने स्रोतहरूले उल्लेख गरेका छन् ।

हाल नेपालको कुल विद्युत् उत्पादनमा निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी रहेको अवस्थामा यस क्षेत्रलाई अझ सुदृढ बनाउनु पर्नेमा भ्लोनले जोड दिएका छन् ।

भिजन २०२९ मा नीतिगत र कानुनी सुधारलाई विशेष प्राथमिकता दिइएको छ । जलविद्युत् आयोजनाको अनुमतिपत्र (लाइसेन्स) को अवधि ३५ वर्षबाट बढाएर ५० वर्ष पुर्याउन पहल गर्ने प्रतिबद्धता भिजन पत्रमा उल्लेख छ । साथै, वन, वातावरण र प्रशासनिक प्रक्रियामा हुने झन्झटिलो ढिलाइ अन्त्य गर्न ‘एकद्वार प्रणाली’ लागू गराउने लक्ष्य राखिएको छ ।

निजी क्षेत्रका ऊर्जा उद्यमीहरूले लामो समयदेखि उठाउँदै आएको विद्युत् खरिद सम्झौताको अवरोध हटाउन र हाल रोकिएको करिब १२ हजार मेगावाटको पीपीए खुलाउन आफ्नो टिमले सशक्त पहल गर्ने भ्लोनले स्पष्ट पारेका छन् ।

आर्थिक र पूर्वाधार विकासको योजना लगानीको क्षेत्रमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न ऊर्जा क्षेत्रलाई ‘प्रायोरिटी सेक्टर’ घोषणा गरी ७ प्रतिशतभन्दा कम ब्याजदरमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने एजेण्डा अघि सारिएको छ ।

रुग्ण र संकटग्रस्त आयोजनाहरूका लागि पुनर्कर्जाको व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकसँग समन्वय गर्ने योजना समेत टिमले बनाएको छ ।


पूर्वाधारतर्फ, सरकारले मात्र प्रसारण लाइन बनाउन नसकेको अवस्थामा सार्वजनिक–निजी साझेदारी (एएए) मोडलमा निजी क्षेत्रलाई पनि प्रसारण लाइन र वितरणमा सहभागी गराउनुपर्ने विषयलाई भिजन पत्रले प्रमुखताका साथ उठाएको छ । यसका साथै, वैज्ञानिक ह्विलिङ चार्जको निर्धारण गरी निजी क्षेत्रले सिधै उद्योगहरूलाई बिजुली बेच्न पाउने वातावरण सिर्जना गर्ने लक्ष्य राखिएको छ ।

अन्तर्राष्ट्रिय विद्युत् व्यापार र संस्थागत विकास नेपाललाई दक्षिण एसियाकै ऊर्जा केन्द्र बनाउने संकल्पका साथ भारतसँग १० वर्षमा १० हजार मेगावाट र बंगलादेशसँग ५ हजार मेगावाट विद्युत् निर्यात गर्ने योजनालाई प्रभावकारी रूपमा अघि बढाउन कुटनीतिक पहल लिने टिमको योजना छ । “नेपालमा उत्पादन, दक्षिण एसियामा बिक्री“ भन्ने अवधारणालाई व्यवहारमा उतार्न यो प्यानल प्रतिबद्ध देखिएको छ ।

संस्थागत सुधारका लागि इप्पानलाई केवल दबाब समूह मात्र नभई एक नीति अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने संकल्प गरिएको छ । संस्थाको आफ्नै भवन निर्माण गर्ने र सातै प्रदेशमा इप्पानको उपस्थितिलाई बलियो बनाउने रणनीतिक योजना समेत सार्वजनिक गरिएको छ ।

उम्मेदवारी घोषणा गर्दै भ्लोनले आफ्नो टिमले व्यक्तिगत नभई संस्थागत नेतृत्व गर्ने र उद्यमीका समस्या समाधानका लागि सधैं सक्रिय रहने विश्वास व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्