बीमा प्राधिकरणको कारबाहीसँग हिमालयन रीको शेयरमा भारी गिरावट - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बीमा प्राधिकरणको कारबाहीसँग हिमालयन रीको शेयरमा भारी गिरावट



काठमाडौँ । नेपाल बीमा प्राधिकरणले कम्तिमा पनि आगामी असार समसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय गर्न नपाउने भनेर रोक लगाउने गरी गम्भीर कारबाही गरेसँगै हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्यमा उच्च गिरावट देखिएको छ ।

विहीबार बजार खुलेदेखि नै ओरालो लागेको यो कम्पनीको शेयरको भाउ ५८४ रुपैयाँसम्म झरेको थियो । हिजो ६७७ रुपैयाँभन्दा माथि बन्द भएको शेयर मूल्य आज ९३ रुपैयाँ घटे पनि दिनको मध्येतिर घट्ने दर केही कम भएको छ । तर एसियन हाइड्रोलाई छाड्ने हो भने सबैभन्दा धेरै सस्तिने कम्नपीहरुमा हिमालयन रि नै अगाडी छ ।

यो समाचार तयार पार्दा उक्त कम्पनीको सेयरको भाउ ४५–५० रुपैयाँ घटेको अवस्थामा छ ।

वार्षिक ६ अर्ब भन्दा धेरै प्रिमियम संकलन गरेर पनि १ अर्ब ३० करोड हाराहारीमात्रै नाफा निकाल्दै आएको यो कम्पनीलाई जेठ र असार महिनामा थप प्रिमियम लिन नपाउने, तर दायित्व तिरिरहनुपर्ने गरी प्राधिकरणले कारबाही गरेको छ ।

यस्तो कारबाहीले करीब १ अर्ब प्रिमियम लिने समयावधि नै गुमाउनु पर्ने अवस्था आएको छ । यस्तो परिस्थितिले कम्पनीको नाफा पनि १ अर्ब हाराहारी नै खुम्चियो भने वार्षिक ३० करोड हाराहारीमात्रै नाफा निकाल्नसक्ने संभावना छ ।

१० अर्ब ८७ करोड हाराहारी चुक्ता पूँजी भएको कम्पनीमा यति कम नाफाले लाभांश वितरण गर्न पुग्ने अवस्था नै आउने छैन । त्यसमाथि कम्पनीका मुख्य संस्थापक र शीर्ष व्यवस्थापन नै तितरवितर भइसकेका कारण उक्त कम्पनीको शेयरको मूल्यमा चाप परिरहेको देखिएको छ ।

यो कम्पनीको शेयर मूल्य वैशाख २२ गते पछिल्लो न्युनतम विन्दु (६२७ रुपैयाँ)सम्म झरेको थियो । त्यसपछि केही सुधार भएर गत मंगलबार ७१५ रुपैयाँसम्म उक्लिएको सेयर मूल्य अहिले फेरि प्राधिकरणको कारबाहीको समाचारले ओर्लिएको हो ।


प्रतिक्रिया दिनुहोस्