अनुसन्धानको तार सतिशलालतिर सोझ्याउँदै प्रहरी, एनसेलमा बारम्बार छापा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अनुसन्धानको तार सतिशलालतिर सोझ्याउँदै प्रहरी, एनसेलमा बारम्बार छापा



काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीवार पुन: एकपल्ट एनसेलको कार्यालयमा छापामारेर महत्वपूर्ण कागजातहरु जफत गरेको छ ।

सीआईबी प्रमुख एवम् अतिरिक्त महानिरिक्षक (एआईजी) मनोजकुमार केसीले अर्थपथसँग भने, ‘अनुसन्धानका क्रममा आवस्यक पर्ने कागजातहरु हामीले बेलाबेलामा माग्दै आएका हुन्छौँ, आज पनि केही कागजात मागेर ल्याइएको हो ।’ उनले एनसेलबाट यसअघि पनि पटक पटक यस्ता कागजातहरु लिएर अनुसन्धान भएको बताए ।

एआईजी केसीले ‘यो खासै ठूलो कुरा होइन, निरन्तर चल्ने प्रक्रिया हो’ भने पनि स्मार्ट टेलिकम प्रकरणमा धमाधम मान्छे समातिरहेको प्रहरीले एनसेलमा छापा मार्नुलाई सामाजिक सञ्जाल र मिडियाहरुमा भने ‘गम्भीर संकेत’का रुपमा व्याख्या गरिएको छ ।

स्मार्टसेल ब्राण्डमा मोबाइल नेटवर्क सञ्चालन गर्दा स्मार्ट टेलिकम प्रालिले जोडेको जायजेथाको लिलामी विक्री सम्बन्धी प्रकरणमा अहिले प्रहरीले अनुसन्धान गरिहरेको छ । यसैका लागि स्मार्ट टेलिकमका अध्यक्ष तथा प्रबन्ध निर्देशक सर्वेश जोशी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र अरु दुई जनालाई सीआईबीको हिरासतमा राखिएको छ ।

स्मार्ट टेलिकमले आफ्ना उपकरण र सम्पत्ति धितो राखेर लिएको ऋण नतिरेपछि बैंकले लिलामी गरेको विषयमा अनुसन्धान भइरहेकाले उक्त लिलामी सकारेको एनसेलमाथि पनि प्रहरीको नजर परेको देखिन्छ । तर, दूरसञ्चार क्षेत्रका विज्ञहरु भने यो अनुसन्धानको लहरो अलि टाढैसम्म तन्काउने उद्देश्यले काम भइरहेको हुनसक्ने अनुमान लगाउँछन् ।

दूरसञ्चार प्राधिकरणका एक जना पूर्व अधिकारीले भने, ‘यो अनुसन्धानको तार सतिशलाल आचार्यहरुसम्म पुग्नसक्छ । अहिले प्रहरीले अनुसन्धान अघि बढाएको ढंग हेर्दा त्यस्तो देखिन्छ ।’

सतिशलाल अहिले एनसेलको मालिक हुन् । उनले केही समयअघि बेलायतमा स्पेक्ट्रलाइट यूके नामक कम्पनी खोलेर रेनल्ड होल्डिङ भन्ने अर्को कम्पनीको सम्पूर्ण स्वामित्व खरीद गरेसँगै अब एनसेल केवल आचार्य परिवारको स्वामित्वमा आएको छ ।

भलै, नेपालको सरकारले उक्त खरीदविक्रीलाई ‘अमान्य’ भने पनि एनसेलको ८० प्रतिशत स्वामित्व बोकेको रेनल्ड होल्डिङ अब आचार्यको नियन्त्रणमा छ । यसको अर्को स्थानीय साझेदार पनि सतिशकै श्रीमतीको स्वामित्वमा रहेको कम्पनी छ ।

यसअघि पूर्व महालेखापरीक्षक टङ्कमणि शर्माको नेतृत्वमा गठित उच्चस्तरीय छानबिन समितिले तयार पारेको एनसेल शेयर खरीद विक्री अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० ले पनि स्मार्ट टेलिकममा आचार्य परिवारको कुनै न कुनै व्यावसायिक स्वार्थ भएको उल्लेख गरेको थियो ।

अहिले स्मार्टको सम्पत्ति खरीदमा पनि एनसेल नै आउनुलाई प्रहरीले सन्देहास्पद रुपमा हेरेको हुनसक्ने जानकारहरु बताउँछन् ।

यता एनसेलले भने ‘दूरसञ्चार कम्पनी स्मार्ट टलिकमका उपकरण तथा टावरहरु लिलाम सम्बन्धी केही कागजातहरु सीआईबीबाट पत्रमार्फत माग भई आएकोमा सोही बमोजिम कागजातहरु उपलब्ध गराइएको’ भनेर लिखित जवाफ पठाएको छ । ‘एक जिम्मेवार कर्पोरेट संस्थाको रूपमा सदा झै कम्पनी सरकारी निकायहरूका काम कारबाहीमा आवश्यक सहयोग पुर्याउन पूर्ण रूपमा प्रतिबद्ध छ’, एनसेलले भनेको छ ।

प्रतिवेदनले यी दुई कम्पनीलाई कसरी जोडेको छ ?

एनसेल सम्बन्धी छानबिन प्रतिवेदनमा स्मार्ट टेलिकम र यसका मालिकहरुको विषय समेटिएको छ । जसअनुसार जम्मा ३२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको स्मार्ट टेलिकमको स्वामित्व ३ वटा कम्पनीसँग रहेको भनिएको छ ।

‘त्यसमध्ये ५० प्रतिशत स्वामित्व लालसाहु होल्डिङ्स लि. सँग छ, जसको मालिक सतिशलाल आचार्य नै देखिन्छन्’ भनेर प्रतिवेदनमा उल्लेख छ । अर्को ३० प्रतिशत स्वामित्व कोस्वो इन्भेष्टमेन्ट लि.सँग छ, जसको शेयरधनी इरिनी गर्जियस उल्लेख गरिएको छ । यी दुबै कम्पनी पूर्वी अफ्रिकी मुलुक सेसेल्समा स्थापना भएका हुन् ।

त्यो भनेको मादागास्करदेखि उत्तरपूर्वमा हिन्द महासागरका ११५ टापुहरु मिलेर बनेको द्वीपसमूह राष्ट्र हो । यो एउटा ‘ट्याक्स हेभन’ मुलुका हो र अचेल संसारका केही ‘अफसोर’ वित्तीय केन्द्रहरुमध्ये गनिन्छ ।

बाँकी २० प्रतिशत स्वामित्व चाहीँ नेपालमै दर्ता भएको स्क्वायर नेटवर्क प्रालीसँग छ, जसको अध्यक्ष सर्वेश जोशी छन् । यो कम्पनीमा पनि २०५७ माघ ६ गतेको माइन्यूटमा सचिनलाल आचार्य (सतिशका भाइ) अध्यक्ष र भावना सिंह श्रेष्ठ (सतिशकी श्रीमती) सञ्चालक रहेको देखिएको प्रतिवेदनले भनेको छ ।

पछि २०७२ मंसिर २५ मा आएर स्क्वायर नेटवर्कको अध्यक्ष सर्वेश जोशी बनेको देखिन्छ ।

सतिश तिनै व्यक्ति हुन्, जसले स्पेक्ट्रलाइट इन्भेष्टमेन्ट यूके कम्पनीमार्फत् रेनल्ड्स होल्डिङ (एनसेलको ८० प्रतिशत स्वामित्व भएको कम्पनी) नै किनेर एनसेललाई आफ्नो परिवारको निजी कम्पनी बनाएका छन् । तर ‘आजियाटा ग्रुप बर्हाड र स्पेक्ट्रलाइटबीच भएको शेयर खरिद विक्री सम्झौताको अनुसूची २ को बूँदा नम्बर ३ ले आजको एनसेल र स्मार्ट टेलकमबीच व्यावसायिक सम्बन्ध रहेको संकेत गर्छ’ भनेर पनि प्रतिवेदनले भनेको छ ।

‘त्यहाँ उल्लेख भएअनुसार सन् २०२९ भित्र स्मार्ट टेलिकम प्रालिको अनुमतिपत्र नविकरण भई एनसेलले प्राप्ति गरेमा सो नविकरण भएको ६० दिनभित्र खरिदकर्ता (स्पेक्ट्रलाइट)ले थप १ करोड अमेरिकी डलर रकम आजियाटा ग्रुपलाई भुक्तानी गर्नुपर्ने शर्त छ’ प्रतिवेदनमा उल्लेख छ ।

यता, एनसेलको स्वदेशी साझेदार रहेको कम्पनी सुनिभेरा क्यापिटल भेञ्चर्स प्रालिले २०७२ साल चैतमा एनसेल प्रालिको २० प्रतिशत स्वामित्व खरीद गर्नुभन्दा केही दिन अघिसम्म स्मार्ट टेलिकममै पनि सचिनलाल आचार्य अध्यक्ष र सतिशलाल आचार्य नै सञ्चालक रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

यी आधारहरुको पृष्ठभूमिमा एनसेलले नै स्मार्ट टेलिकमको सम्पत्ति सकार्नुलाई प्रहरीले सन्देह गरेको हुनसक्ने दूरसञ्चार प्राधिकरणका अवकाशप्राप्त अधिकारीको अनुमान छ ।


प्रतिक्रिया दिनुहोस्