अमेरिकी नाकाबन्दीले अन्धकारमा क्युबा: रित्तियाे पेट्रोलियम पदार्थ, दैनिक २२ घण्टा लोडसेडिङ
काठमाडाैं । क्युबा अहिले दशकौँ यताकै सबैभन्दा खराब ऊर्जा संकटको सामना गरिरहेको छ।टापु राष्ट्रको मुख्य पावर ग्रिड बारम्बार फेल हुँदा देशभरका लाखौँ नागरिकहरू अन्धकारमा बस्न बाध्य भएका छन्।
क्युवाका ऊर्जामन्त्री भिसेन्टे डेला ओ लेभीले सरकारी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा देशमा डिजेल लगायतका पेट्रोलियम पदार्थ पूर्ण रूपमा सकिएको र ऊर्जा प्रणाली अत्यन्त संकटग्रस्त अवस्थामा पुगेको स्वीकार गरेका छन्।
अमेरिकी नेतृत्वमा लगाइएको कडा तेल नाकाबन्दीका कारण इन्धन आपूर्ति ठप्प भएपछि राजधानी हाभाना लगायतका धेरै क्षेत्रहरूमा दैनिक २० देखि २२ घण्टासम्म विद्युत् कटौती भइरहेको छ।
अहिले देशको राष्ट्रिय विद्युत् प्रणाली घरेलु कच्चा तेल, प्राकृतिक ग्यास र सीमित नवीकरणीय ऊर्जामा मात्र निर्भर छ। इन्धनको चरम अभावले गर्दा देशसँग अब केही मात्रामा घरेलु ग्यास मात्र बाँकी रहेको सरकारी अधिकारीहरूले जनाएका छन्।
यो संकटले क्युबाको प्रमुख आर्थिक आधार मानिने पर्यटन क्षेत्रलाई गम्भीर रूपमा प्रभावित पारेको छ। विद्युत् अभावकै कारण अस्पतालहरूको आकस्मिक सेवामा बाधा पुगेको छ भने विद्यालय र सरकारी कार्यालयहरू अनिश्चितकालका लागि बन्द गर्नुपर्ने अवस्था आएको छ।
लामो समयको लोडसेडिङले गर्दा खाद्यान्न भण्डारण र खानेपानी आपूर्ति समेत अवरुद्ध हुँदा सर्वसाधारणको दैनिक जीवन कष्टकर बनेको छ।
क्युबाले ऐतिहासिक रूपमा इन्धनका लागि भेनेजुयला र मेक्सिकोमाथि भर पर्दै आएको थियो। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई इन्धन पठाउने देशहरूमाथि भारी कर लगाउने र कडा प्रतिबन्ध लगाउने चेतावनी दिएपछि ती देशहरूबाट हुने आपूर्ति लगभग ठप्प भएको छ।
बाह्य सहयोग रोकिँदा र आन्तरिक उत्पादनले माग धान्न नसक्दा क्युबाको ऊर्जा पूर्वाधार पूर्ण रूपमा धराशायी हुने अवस्थामा पुगेको छ।
सरकारले पावर ग्रिड पुन: सुचारु गर्ने प्रयास गरिरहेको दाबी गरे पनि इन्धनको दिगो स्रोत फेला नपर्दासम्म यो समस्या समाधान हुने छाँट देखिएको छैन। पुराना र जीर्ण पावर प्लान्टहरूको मर्मतका लागि आवश्यक पार्टपूर्जा समेत आयात गर्न नसकिने अवस्थाले संकटलाई झन् बल्झाएको छ।
अन्तर्राष्ट्रिय जगतले क्युबामा उत्पन्न यो मानवीय र आर्थिक संकटप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।













