गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग अब प्रधानमन्त्री कार्यालय मातहत
काठमाडौं । नेपालको एक मात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागलाई पुन: प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको छ । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले बुधबार कार्य विभाजन नियमावलीमा संशोधन गर्दै यो महत्वपूर्ण निर्णय गरेको हो ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखिएको भए तापनि सुशीला कार्की नेतृत्वको सरकारले यसलाई पुन: गृह मन्त्रालय मातहत फर्काएको थियो । हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट झण्डै दुई तिहाइ बहुमत प्राप्त गरी प्रधानमन्त्री बनेका बालेन शाहले सुशासनको नयाँ अभ्यास स्वरूप यो कदम चालेका हुन् ।
यो निर्णय सरकारले गत चैत १५ गते सार्वजनिक गरेको ’सुशासन मार्गचित्र २०८२’ को सुझावका आधारमा गरिएको हो । सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित समितिले तयार पारेको उक्त मार्गचित्रको ८०२ पेजमा विभागलाई पटक–पटक मन्त्रालय परिवर्तन नगर्न र प्रधानमन्त्री कार्यालय मातहत नै राखेर संस्थागत स्थायित्व दिन स्पष्ट सुझाव दिइएको थियो ।
मार्गचित्रले यस्तो परिवर्तन तीन महिना भित्र गरिसक्नुपर्ने समयसीमा समेत तोकेको थियो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार विभागलाई गृह मन्त्रालयको घेराबाट बाहिर निकाली प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेखमा राख्दा यसको कार्यसम्पादन अझ प्रभावकारी हुने र देशको सुरक्षा संयन्त्रमा थप मजबूती आउने विश्वास लिइएको छ । यो कदमसँगै गुप्तचरी निकायको संरचनामा दीर्घकालीन स्थायित्व आउने सरकारको लक्ष्य रहेको छ ।













