धितोपत्र बोर्डको नेतृत्वका लागि ४७ जनाको आवेदन, प्रतिस्पर्धामा पूर्व डेपुटी गभर्नरदेखि अर्थशास्त्रीसम्म
काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबाेन) को रिक्त अध्यक्ष पदका लागि आवेदन दिनेहरूको अन्तिम सूची सार्वजनिक भएको छ।
बोर्ड अध्यक्ष नियुक्तिका लागि सरकारले गठन गरेको सिफारिस समितिले खुलाएकाे आवेदनमा तोकिएको समयभित्र ४७ जनाको आवेदन परेको हो।
यस पटकको आवेदन सूचीमा नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नरहरू, पूर्व सरकारी अधिकारीहरू र अर्थशास्त्रीहरूको बाहुल्यता देखिएको छ। आवेदन दिनेहरूमा नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारीहरू बम बहादुर मिश्र, चिन्तामणी शिवाकोटी, र डा. गोपाल भट्ट जस्ता अनुभवी व्यक्तित्वहरू रहेका छन्।
त्यस्तै, बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जिवी चापागाईंले पनि बोर्डको अध्यक्षका लागि इच्छा देखाएका छन् ।
सूचीमा धितोपत्र बोर्डकै वर्तमान र पूर्व कर्मचारीहरू सहित विभिन्न क्षेत्रका ३७ भन्दा बढी विज्ञहरू सामेल छन्। आवेदन दिनेहरूमा डा. नवराज अधिकारी, दीर्घ मैनाली, कृष्ण बहादुर कार्की, र बद्री गुरागाईं जस्ता परिचित नामहरू छन्।
साथै, डिमप्रसाद पौडेल, सन्तोषनारायण श्रेष्ठ, र बुद्धिसागर अमगाईं लगायतका प्रतिस्पर्धीहरू पनि सूचीमा अटाएका छन्। पछिल्लो समयमा पुँजी बजारमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न सक्ने नेतृत्वको खोजी भइरहँदा यो प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ।













