सिइओ पाण्डे हिरासत मुक्त - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सिइओ पाण्डे हिरासत मुक्त



काठमाडौँ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डे हिरासत मुक्त भएका छन्।

गत मङ्गलबार राति पक्राउ परेका पाण्डे अदालतको आदेशले रिहा भएका हुन्। सर्वोच्च अदालतले बन्दी प्रत्यक्षिकरण मुद्दामा पाण्डेलाई गैरकालीन रूपले हिरासतमा राखिएको भन्दै मुक्त गर्न आदेश दिएको थियो।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र शान्तिसिंह थापाको इजलासले पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को हिरासतबाट छाड्न आदेश दिएका हुन् ।

सोही आधारमा प्रहरीले उनलाई शुक्रबार साँझ हिरासत मुक्त गरिदिएको हो।

बैंकमा धितो राखेको सम्पत्ति कानुन बमोजिम ऋणीको समेत मन्जुरी लिएर लिलामी गरेको मुद्दामा अनुसन्धान गर्न भन्दै उनलाई प्रहरीले पक्राउ गरेको थियो।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन र सुरक्षित कारोबार ऐनले स्पष्ट रुपमा बैंकमा धितो राखेको सम्पत्ति ऋण चुक्ता नभएको अवस्थामा बैंकले लिलामी गर्न सक्ने व्यवस्था गरेको भएपनि प्रहरीले अर्कै एउटा नियमावलीको आधारमा उनलाई पक्राउ गरेको हो।

यस घटनापछि पर्याप्त आधार र प्रमाण नभई बैंकरहरू पक्राउ पर्न थालेको भनेर चर्को आलोचना भएको थियो। प्रहरीमा वित्तीय कानुनहरूलाई बुझ्ने र बुझाउने दक्षता पनि कमजोर भएको भन्दै सरकारवालाले चासो राखेका थिए।

सम्पत्ति कब्जा गर्ने, दायित्व नव्यहोर्ने सरकारी नीतिले स्मार्ट टेलिकम काण्डमा लफडा


प्रतिक्रिया दिनुहोस्