नयाँ संयोजकको इन्ट्रीसँगै सेबाेनको अध्यक्ष छनोट प्रक्रिया ब्युँतियो, बजेटअघि नेतृत्व पाउने सम्भावना कति ?
काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा नयाँ अध्यक्ष नियुक्ति प्रक्रियाले फेरि गति लिएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले स्वार्थ बाझिने भन्दै राजीनामा दिएपछि छनोट समितिको नेतृत्व परिवर्तन भएको हो।
समितिको नयाँ संयोजकका रूपमा योजना आयोगकै सदस्य प्रा.डा. सञ्जय आचार्य चयन भएका छन्। आचार्यले जिम्मेवारी सम्हाले लगत्तै नेतृत्व चयनको प्रक्रिया अगाडि बढेको छ।
नयाँ संयोजक नियुक्त भएसँगै छनोट समितिले भोलि (सोमबार) का लागि पहिलो बैठक आह्वान गरेको छ। यस बैठकमा समितिका अन्य सदस्यहरू अर्थ सचिव डा. घनश्याम उपाध्याय र विज्ञ सदस्य भुवनकुमार दहाल सहभागी हुनेछन्।
भोलिको बैठकमा अध्यक्ष पदका लागि परेका कुल ४७ जना आवेदकहरूको फाइल खोतलिने छ। प्राप्त आवेदनहरू सङ्कलन गरी प्रारम्भिक अध्ययन गरेपछि समितिले संक्षिप्त सूची (सर्ट लिस्ट) तयार पार्ने विषयमा छलफल गर्नेछ।
मन्त्रालयले आधिकारिक रूपमा नाम सार्वजनिक नगरे पनि अध्यक्षको दौडमा बैंकिङ र पूँजी बजारका हस्तीहरू छन्। जसमा राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र र पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटी रहेका छन्।
यस्तै, धितोपत्र बोर्डकै कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेप्सेका सीईओ कृष्णबहादुर कार्की र चिरञ्जिवी चापागाईं पनि प्रतिस्पर्धी हुन्। डा. गोपाल भट्ट र डिमप्रसाद पौडेलसहित बजारका पुराना अनुहारहरू पनि यो दौडमा सामेल छन्।
कानुनी प्रक्रिया अनुसार समितिले ४७ जनामध्येबाट ५ जनाको नाम ‘सर्ट लिस्ट’ गर्नेछ। ती ५ जनाको अन्तर्वार्ता लिएपछि उत्कृष्ट ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिनेछ।
मन्त्रिपरिषद् बैठकले सिफारिस भएका ३ जनामध्ये उत्कृष्ट १ जनालाई आगामी ४ वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गर्ने कानुनी प्रावधान छ।
छनोट समिति सक्रिय भए पनि जेठ १५ को बजेट अगावै नयाँ अध्यक्ष आउने सम्भावना भने न्यून छ। अर्थ मन्त्रालय अहिले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको अन्तिम चरणमा व्यस्त छ।













