नेपाल मोबाइल व्यवसायी महासंघमा नयाँ नेतृत्व: को-को चुनिए पदाधिकारी? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाल मोबाइल व्यवसायी महासंघमा नयाँ नेतृत्व: को-को चुनिए पदाधिकारी?



काठमाडौँ । नेपाल मोबाइल व्यवसायी महासंघको नयाँ अध्यक्षमा रमेश घिमिरे निर्वाचित भएका छन्। राजधानी काठमाडौँमा सम्पन्न महासंघको तेस्रो महाधिवेशनले आगामी दुई वर्षका लागि घिमिरेको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो।

निर्वाचन पश्चात् नवनिर्वाचित टोलीले आइतबारदेखि नै आफ्नो कार्यभार सम्हालिसकेको महासंघका नवनिर्वाचित महासचिव छतेन्द्र आचार्यले जानकारी दिएका छन्।

महाधिवेशनमा नेतृत्व चयनका लागि केही पदमा मतदान भएको थियो भने अधिकांश पदमा सर्वसम्मत नेतृत्व टुङ्ग्याइएको थियो। निर्वाचन समितिका प्रमुख सन्तोष भण्डारीका अनुसार महाधिवेशनमा सात जना उपाध्यक्ष, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदका लागि मात्रै चुनावी प्रतिस्पर्धा भएको थियो। प्रमुख पद मानिने अध्यक्षसहित अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरू भने निर्विरोध निर्वाचित भएका हुन्।

महासंघको नयाँ कार्यसमितिअन्तर्गत वरिष्ठ उपाध्यक्षमा डिल्लीबहादुर तामाङ चयन भएका छन्। त्यस्तै, चुनावी प्रतिस्पर्धाबाट चुनिएका सात उपाध्यक्षहरूमा उदयबहादुर केसी, दिलबहादुर लामा, सुवास बम, दिपक पाण्डे, दिपकबाबु बोगटी, बद्री कुँवर र सुरेश बानियाँ रहेका छन्।

महासंघको सांगठनिक जिम्मेवारीको मुख्य भूमिकामा रहने महासचिव पदमा छतेन्द्र आचार्य निर्विरोध भएका छन् भने कोषाध्यक्षमा लवकृष्ण श्रेष्ठ र सहकोषाध्यक्षमा रुद्रमणि धिताल चुनिएका छन्। यसैगरी, चार सचिव पदका लागि ङेमा लामा, नारायण सुवेदी, विष्णु ज्ञवाली र सपना नहर्की चयन भएका छन्।

नयाँ कार्यसमितिलाई पूर्णता दिनका लागि २४ सदस्यीय केन्द्रीय सदस्यहरूको समेत चयन गरिएको छ। जसमा नवराज चौलागाईं, शेषनारायण शर्मा, हिमाअ लम्साल, मुकुन्द सत्याल, लोकेन्द्र बुढाथोकी, विवेक बाध्यकार, सिताराम तिमल्सिना, दिलबहादुर तामाङ, भगतबहादुर रावल, यादव सुवेदी, दिपेन्द्र प्रसाद अवस्थी, शिवप्रसाद खतिवडा, रुजन श्रेष्ठ, दिपककुमार ओझा, कविन्द्र अधिकारी, मिलन स्याङ्तान, सन्तोष थापा, हरिप्रसाद पौडेल, चिन्तामणि खरेल, केशव खनाल, चन्द्रप्रसाद न्यौपाने, टेकबहादुर थापा, गणेशबहादुर बोगटी र राजु सिंह टुकरीया रहेका छन्।

देशभरका मोबाइल व्यवसायीहरूको छाता संगठन मानिने यस महासंघको महाधिवेशनमा सहभागी हुन र नयाँ नेतृत्व चयन प्रक्रियामा भाग लिन मुलुकका विभिन्न क्षेत्रबाट झन्डै १५ सय प्रतिनिधिहरू काठमाडौँ आइपुगेका थिए। नयाँ नेतृत्वले व्यवसायिक हकहित र बजारको समसामयिक चुनौतीहरूलाई सम्बोधन गर्ने अपेक्षा व्यवसायीहरूले गरेका छन्।


प्रतिक्रिया दिनुहोस्