गुण्डुमा एमाले सचिवालय बैठक बस्दै, नेताहरूको कार्यविभाजन र सुकुम्बासी समस्या मुख्य एजेन्डा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

गुण्डुमा एमाले सचिवालय बैठक बस्दै, नेताहरूको कार्यविभाजन र सुकुम्बासी समस्या मुख्य एजेन्डा



काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास भक्तपुरको गुण्डुमा दिउँसो १ बजे बैठक बोलाइएको हाे।

यसअघि जेठ २ गतेका लागि तय गरिएको बैठक आवश्यक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो। पार्टीको ११ औँ महाधिवेशन सम्पन्न भए पनि नेताहरूको कार्यविभाजन हुन नसकेकाले आजको बैठकमा मुख्य रूपमा जिम्मेवारी बाँडफाँडकै विषयमा केन्द्रित रहेर छलफल हुने नेताहरूले बताएका छन्।

पार्टीका एक पदाधिकारीका अनुसार यसपटक केन्द्रीय सदस्यहरूलाई पालिकास्तरको कमान्ड सुम्पिने तयारी भइरहेको छ। आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन सुदृढ बनाउन हरेक केन्द्रीय सदस्यलाई पालिका इन्चार्जको जिम्मेवारी दिएर खटाइने रणनीति एमालेको छ। यसका साथै केन्द्रीय विभाग तथा अन्य निकायहरूमा समेत जिम्मेवारी तोकिनेछ।

आजको बैठकले गत फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्नका लागि केन्द्रीय कमिटी बैठकको मिति समेत तय गर्ने ती पदाधिकारीले उल्लेख गरे।

विशेषगरी सरकारले जबरजस्ती हटाएका सुकुम्बासीहरूको व्यवस्थापन, सरकारका हालैका गतिविधि र त्यसले जनतामा पारेको नकारात्मक प्रभावबारे एमालेले संस्थागत धारणा तय गर्ने बुझिएको छ।


प्रतिक्रिया दिनुहोस्