वाणिज्य बैंकहरूको १ खर्ब ३६ अर्ब शेयर धितो कर्जा: नबिल पहिलो बन्दा ग्लोबल र कुमारीको बलियो टक्कर !
काठमाडौं । शेयर बजारमा उतारचढाव आइरहँदा बैंक तथा वित्तीय संस्थाहरूले शेयर धितोमा प्रवाह गर्ने कर्जा (मार्जिन लेन्डिङ) मा आक्रामक लय समातेका छन् । चालू आर्थिक वर्ष २०८२–८३ को चैत मसान्त (९ महिना) सम्म आइपुग्दा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले कुल १ खर्ब ५९ अर्ब ४८ करोड ८० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन् ।
यो कर्जा प्रवाहले बैंकिङ प्रणालीमा रहेको पर्याप्त तरलता र शेयर बजारप्रतिको फेरिँदो आकर्षणलाई प्रस्ट पार्छ । फागुन महिनाको तुलनामा चैतमा मात्रै यस्तो कर्जा समग्र वित्तीय प्रणालीमा २.०५ प्रतिशतले बढेको छ ।
वाणिज्य बैंकहरूले मात्रै यस क्षेत्रमा ठूलो हिस्सा ओगटेका छन् । चैत महिनामा वाणिज्य बैंकहरूमा मात्रै फागुनको तुलनामा २.२६ प्रतिशतले शेयर धितो कर्जा बढेको छ । फागुन मसान्तसम्म १९ वटा वाणिज्य बैंकबाट कुल १ खर्ब ३३ अर्ब ६९ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएकोमा चैत मसान्तसम्म आइपुग्दा यो रकम बढेर १ खर्ब ३६ अर्ब ७१ करोड ७० लाख रुपैयाँ पुगेको छ ।
एकै महिनामा करिब ३ अर्ब रुपैयाँभन्दा बढीले कर्जा बढ्नुले लगानीकर्ताहरू सस्तो ब्याजदरको फाइदा उठाउँदै शेयर बजारमा सक्रिय हुन थालेको संकेत गर्छ ।
कर्जा प्रवाहको दौड: कसको खल्ती कति खुकुलो ?
१९ वटा वाणिज्य बैंकहरूको कर्जा प्रवाहको चित्र हेर्दा केही बैंकहरू शेयर बजारमा अत्यधिक विश्वासका साथ आक्रामक देखिएका छन् भने केही अझै पनि पर्ख र हेरको रणनीतिमा छन् ।
शेयर धितो कर्जा प्रवाह गर्ने दौडमा निजी क्षेत्रको अग्रणी नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ । नबिल बैंकले कुल १७ अर्ब ४० करोड ८ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गर्दै आफ्नो दबदबा कायम राखेको छ ।
नबिललाई पछ्याउँदै ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा उभिएको छ । जसले १३ अर्ब ७३ करोड ६५ लाख रुपैयाँ शेयर धितोमा ओइर्याएको छ । त्यस्तै, कुमारी बैंकले पनि १० अर्ब ९३ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेर तेस्रो स्थान सुरक्षित गरेको छ । प्राइम कमर्सियल बैंक ९ अर्ब ६९ करोड ४२ लाख रुपैयाँ र लक्ष्मी सनराइज बैंक ९ अर्ब ४९ करोड ८३ लाख रुपैयाँसहित शीर्ष ५ को सूचीमा अटाएका छन् ।
अर्कोतर्फ केही बैंकहरू भने शेयर बजारमा ठूलो रकम लगानी गर्न हिचकिचाएको देखिन्छ । नेपाल एसबीआई बैंकले ५६ करोड ८ लाख रुपैयाँ मात्र शेयर धितो कर्जा दिएको छ भने विदेशी लगानीको स्टाण्डर्ड चार्टर्ड बैंकले यस अवधिमा शून्य कर्जा प्रवाह गरेको छ ।
चार्टर्डले शेयर धितोमा एक रुपैयाँ पनि लगानी नगर्नुले उसको परम्परागत र अत्यधिक सुरक्षित बैंकिङ गर्ने नीतिको निरन्तरतालाई बुझाउँछ । यसैगरी हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले क्रमश: ३ अर्ब ६९ करोड ३ लाख रुपैयाँ र ३ अर्ब ८८६ करोड ६५ लाख रुपैयाँ मात्रै यो शीर्षकमा कर्जा प्रवाह गरेका छन् ।
बदलिँदो नीति र बजारको मनोविज्ञान
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) थुप्रिएपछि बैंकहरूले सस्तो ब्याजदरमा कर्जाको स्किम सार्वजनिक गरिरहेका छन् । हाल एकल अंकमा पाउन थालिएको शेयर धितो कर्जाका कारण लगानीकर्ताहरूमा उत्साह थपिएको हो । यसअघि नेपाल राष्ट्र बैंकले लगाएको कर्जाको सीमा (क्याप) र जोखिम भारका कारण संकुचित बनेको यो बजार बिस्तारै खुकुलो बन्दै जाँदा यसको प्रत्यक्ष प्रभाव बैंकहरूको तथ्याङ्कमा प्रतिविम्बित हुन थालेको छ ।
पछिल्ला महिनाहरूमा शेयर बजारमा सुधारको संकेत देखिनु र नियामक निकाय राष्ट्र बैंकले पनि मौद्रिक नीति सन्तुलित बनाउँदै लैजानुले चैत महिनामा कर्जा प्रवाहको दर अझ बढाएको हो ।
बैंकहरूका लागि व्यावसायिक कर्जाको माग सुस्त भइरहेका बेला शेयर धितो कर्जा सुरक्षित र छिटो प्रतिफल दिने माध्यम बन्न पुगेको छ । फागुनको तुलनामा चैतमा देखिएको २.२६ प्रतिशतको वृद्धिले वैशाख र जेठ महिनामा यो कर्जा अझ बढ्ने संकेत गर्छ ।













