महासंघ राजनीतिमा फेरि रस्साकस्सी, शुक्रबारे चुनावमा को को छन् सम्भावित उमेदवार ?
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ साधारण सभा तथा निर्वाचन सम्पन्न भएसँगै निजी क्षेत्रको यो ठूलो संस्थाले नयाँ नेतृत्व त पाएको छ, तर कार्यसमितिभित्रको शक्ति सन्तुलन मिलाउने रस्साकस्सी भने अझै सकिएको छैन। महासंघको नयाँ कार्यसमितिले अब वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्नुपर्ने हुन्छ।
आगामी शुक्रबार हुने भनिएको यो आन्तरिक प्रतिस्पर्धाका लागि महासंघका वर्तमान अध्यक्ष अञ्जन श्रेष्ठ, एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डे र निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल आ–आफ्नो रणनीति र उम्मेदवारसहित चुनावी मैदानमा देखिएका छन्। साधारण सभाको चुनावी दौडमा एक ठाउँमा उभिएका केही शीर्ष नेताहरू पनि कार्यसमितिका पदाधिकारी छनोट गर्ने बेलासम्म आइपुग्दा भने विभाजित बन्न पुगेका छन्।
यद्यपि, महासंघको विधानले उक्त पदहरुमा मनोनित गर्ने अधिकार अध्यक्षलाई नै दिएको छ । अहिलेको कार्यसमितिमा अध्यक्ष श्रेष्ठसँग उल्लेख्य बहुमत रहेका कारण उनले चाहेकै व्यक्तिलाई बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष मनोनित गर्न सक्छन् । यसक्रममा आफ्नो टीम र समग्र महासंघलाई ‘एक ढिक्का राख्ने’ हेतुमा उनी अरु नेताहरुले अघि सारेका नाममा छलफल र सहमति गर्न कति राजी हुन्छन् भन्ने कुराले मात्रै परिणामलाई प्रभावित पार्न सक्छ ।
त्यसै कारण यस पटकको पदाधिकारी चयनलाई महासंघभित्र निकै चासोका साथ हेरिएको छ। महासंघको परिमार्जित विधानले पहिलो पटक पूर्वपदाधिकारीहरूलाई पनि वरिष्ठ उपाध्यक्षको दौडमा सामेल हुने बाटो खोलिदिएको छ। यसअघि बहालवाला कार्यसमिति सदस्यहरूमध्येबाट मात्र पदाधिकारी चुनिने नियम रहेकामा नयाँ व्यवस्थाले यसको दायरालाई फराकिलो बनाइदिएको हो।
यही परिवर्तित नियमका कारण पूर्वउपाध्यक्षहरू रामचन्द्र संघई, किशोरलाल प्रधान, हेमराज ढकाल, सुरकृष्ण वैद्य र पूर्वकोषाध्यक्ष भरत आचार्य यतिबेला वरिष्ठ उपाध्यक्षको बलियो दाबेदारका रूपमा अगाडि आएका छन्। यसबाहेक, नयाँ विधानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने पुरानो परिपाटीलाई तत्कालका लागि अन्त्य गरिदिएको छ।
अबको तीन वर्षपछि हुने महासंघको निर्वाचनमा अध्यक्ष पदकै लागि प्रत्यक्ष मतदान हुनेछ। हालका अध्यक्ष श्रेष्ठ भने पुरानै व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्षबाट स्वतः नेतृत्वमा पुगेका हुन्।
झ्वाट्ट हेर्दा नयाँ नेतृत्व चयनको यो घडीमा अध्यक्ष अञ्जन श्रेष्ठमाथि दोहोरो दबाब परेको देखिन्छ। उनी वरिष्ठ उपाध्यक्षका लागि सुरकृष्ण वैद्यको पक्षमा खुलेर लागेको र उनलाई सहयोग गर्ने बचन दिएको चर्चा महासंघभित्र छ। तर आफ्नै निकट मानिने अर्का नेता किशोरलाल प्रधानले पनि यसै पदमा अडान कसेपछि अध्यक्ष श्रेष्ठ धर्मसंकटमा परेका छन्।
यता, चुनावी अभियानमा अध्यक्ष श्रेष्ठलाई साथ दिएका एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले भने आफ्नो पूर्वप्रतिबद्धताअनुसार रामचन्द्र संघईलाई वरिष्ठ उपाध्यक्षको रूपमा अगाडि बढाएका छन्। एसोसिएट तर्फबाट विजयी भएका पाण्डेले सुरुदेखि नै संघईको नाममा जोड दिँदै आएका थिए।
अध्यक्ष श्रेष्ठले वैद्यलाई अघि सारेपछि पाण्डेमाथि केही नैतिक दबाब परे पनि उनले संघईलाई ‘अस्वीकार’ गर्न सकिरहेका छैनन् । त्यसो त, अध्यक्ष श्रेष्ठ पनि संघाईप्रति सकारात्मक नभएका होइनन् तर उनको प्राथमिकतामा अरु दुई जना अगाडी देखिएका छन् ।
महासंघको राजनीतिमा बलियो पकड बनाएका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको समूहमा भने यतिबेला आन्तरिक असमझदारी चुलिएको छ। ढकाल निकट मानिने भरत आचार्यले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेपछि सोही समूहका हेमराज ढकाल अप्ठ्यारोमा परेका छन्।
चुनाव अघि हेमराजले वरिष्ठ उपाध्यक्षमा आफ्नो दाबेदारी घोषणामात्रै गरेका थिएनन्, उनले आफ्नो नेतृत्वको प्यानल नै खडा गरेका थिए । उनले आफूलाई निवर्तमान अध्यक्षको आशीर्वाद रहेको दाबी गरेका थिए। तत्कालिन अध्यक्ष चन्द्र ढकालले पनि विभिन्न सार्वजनिक मञ्चहरुमा गएर ‘सहमति’ गर्नुपर्ने भाषण गरिरहेका थिए । उनको त्यो ‘सहमति’को अर्थ नै हेमराजलाई बरिष्ठ उपाध्यक्ष दिने शर्तमा मिलेर जाने हो भनेर तत्कालिन बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले समर्थन गरेको खेमाका व्यवसायीहरुले अर्थ्याउने गर्थे ।
तर ढकाल समूहबाट कार्यसमितिमा वस्तुगततर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठले मात्र चुनाव जिते। एकातिर आफ्नो टोलीका अधिकांश सदस्य पराजित हुनुले यो समूहबाट बरिष्ठ उपाध्यक्ष चुनिन सक्ने संभावना पहिले नै अन्त्य गरिदिएको कतिपय व्यवसायीको मत छ । त्यसमाथि आफ्नै समूहबाट आचार्य पनि चुनावी मैदानमा उत्रिनुले हेमराजको चुनावी यात्रा कमजोर बन्दै गएको आकलन गर्न थालिएको छ।
विवादको यो रूप वरिष्ठ उपाध्यक्षमा मात्र सीमित नरहेर कोषाध्यक्ष पदमा पनि सरेको छ। यस पदमा पनि अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष पाण्डेबीचको मतभेद छताछुल्ल भएको छ। अध्यक्ष श्रेष्ठले मनिषलाल प्रधानलाई आफ्नो समर्थन रहने आश्वासन दिएका छन् भने पाण्डेको झुकाव अम्बिकाप्रसाद पौडेलतर्फ रहेको बताइन्छ।
पौडेलको व्यावसायिक उदय नै आईएमई ग्रुप र चन्द्र ढकालको छत्रछायाँमा भएको हो । अहिले पनि उनी आईएमई समूह अन्तरगतका कयौँ कम्पनीहरुमा साझेदार छन् । व्यावसायिक सम्बन्धहरु ज्यादा विस्वसनीय नरहने भए पनि अध्यक्ष श्रेष्ठले पौडेललाई विस्वास गरिहाल्ने अवस्था त्यति बलियो नभएको एक व्यवसायी बताउँछन् । त्यसैले यस पल्ट आफ्नो अलग्गै तर मिश्रित समूह बनाउन तम्सेका उपाध्यक्ष पाण्डेको मनोकांक्षा पनि ‘थाति’ नै रहनसक्ने ती व्यवसायीले बताए ।
लामो समयदेखि महासंघभित्र यी दुवै महत्त्वपूर्ण पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासस्वरूप अनौपचारिक संवादहरू नभएका होइनन्, तर अहिलेसम्म ठोस सहमति जुट्न सकेको छैन। यसअघि उपाध्यक्ष र केन्द्रीय सदस्यहरूको चुनावका बेला पनि सहमतिको प्रयास असफल भएको नजिर छ।
आकांक्षीहरूको संख्या धेरै हुनु र समूहगत राजनीतिको प्रभावका कारण यस पटक पनि सहमति जुट्ने सम्भावना निकै कम देखिन्छ। अध्यक्ष श्रेष्ठ आफ्नो कार्यकाल सफलतापूर्वक चलाउन आफ्ना सहयोगी पदाधिकारीको खोजीमा छन् भने विपक्षी समूहहरू सबैलाई समेटेर अघि बढ्नुपर्ने दबाब दिइरहेका छन्।
यस पटकको पदाधिकारी चयनमा महासंघका सातवटै प्रदेशका अध्यक्षहरूको भूमिका निकै महत्त्वपूर्ण हुनेछ। परिमार्जित विधानअनुसार नयाँ निर्वाचित कार्यसमिति सदस्यहरूसँगै प्रदेश अध्यक्षहरूले पनि मतदान गर्न पाउनेछन्। प्रदेश प्रमुखहरू पदेन सदस्य मात्र हुने भएकाले यसअघि कार्यसमितिको चुनावमा उनीहरूलाई मतदानको अधिकार थिएन।













