अध्यादेशबाट मात्र वैदेशिक लगानीमा दिगो सुधार हुँदैन: कानुन व्यवसायी सेवन्त दाहाल
काठमाडौ । नेपालमा वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउन कानुनी र व्यावहारिक गाँठो फुकाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजित “नेपालमा प्रत्यक्ष विदेशी लगानीको गाँठो कसरी फुकाउने ?“ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै वरिष्ठ कानुन व्यवसायी सेवन्त दाहालले अध्यादेशको भरमा मात्र लगानीको वातावरणमा दिगो सुधार आउन नसक्ने बताए ।
कार्यक्रममा दाहालले आयकर ऐनको दफा ५७ मा रहेका अस्पष्टता र झन्झटहरूलाई औंल्याउँदै यसमा आवश्यक सुधार गर्न सके मात्र आयात र वैदेशिक लगानीको सूचक (स्कोर) मा सकारात्मक सुधार आउने स्पष्ट परे ।
विदेशी लगानी आकर्षित गर्न नीतिगत सुधार मात्र नभई कार्यान्वयनको पाटो पनि उत्तिकै बलियो हुनुपर्ने उनको भनाइ थियो । यसका लागि सरकारले लामो समयदेखि अड्किएर रहेका वैदेशिक लगानीका आयोजनाहरूको नियमित अनुगमन गर्नुपर्ने र नेपालमा लगानीको सम्भावनाबारे अन्तर्राष्ट्रिय बजारमा निरन्तर ब्रान्डिङ तथा मार्केटिङ गरिरहनुपर्ने सुझाव समेत दाहालले दिए ।













