११ श्रावण २०८३, सोमबार

बैंकहरूमा पैसा थुप्रिएपछि ९१ दिनका लागि फेरि ३० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

बैंकहरूमा पैसा थुप्रिएपछि ९१ दिनका लागि फेरि ३० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक



काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अत्यधिक बढेपछि नेपाल राष्ट्र बैंकले आज फेरि बजारबाट ३० अर्ब रुपैयाँ खिच्ने भएको छ।

बजारमा वित्तीय स्थायित्व कायम राख्न र अधिक तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै उक्त रकम तान्न लागेको हो। यस प्रक्रियाका लागि आज दिउँसो ३ बजे बोलकबोल (बिडिङ) हुने राष्ट्र बैंकले जनाएको छ।

यस निक्षेप संकलन उपकरणमा भाग लिन चाहने बैंक तथा वित्तीय संस्थाहरूका लागि राष्ट्र बैंकले निश्चित सीमा तोकेको छ। इच्छुक संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम कुल आह्वान गरिएको रकम (३० अर्ब रुपैयाँ) सम्मका लागि आवेदन दिन सक्नेछन्। यसरी रकम प्रस्ताव गर्दा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी अंक कायम गर्नुपर्ने सर्त राखिएको छ।

राष्ट्र बैंकका अनुसार यो निक्षेप संकलनको बोलकबोल ब्याजदरका आधारमा हुनेछ। यसमा सहभागी हुने बैंकहरूले बहुब्याजदर प्रणाली अन्तर्गत पनि आफ्नो बहुबोलकबोल पेस गर्न सक्ने सुविधा दिइएको छ।

यस उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू अर्थात् वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले मात्र सहभागिता जनाउन पाउनेछन्।

केन्द्रीय बैंकले जारी गर्न लागेको यो निक्षेप संकलन उपकरण कुल ९१ दिन अवधिको हुनेछ। यसरी बैंकिङ प्रणालीबाट खिचेको रकमको साँवा तथा ब्याज भुक्तानी आगामी भदौ ३ गते गरिने राष्ट्र बैंकले जनाएको छ।

बजारमा कर्जाको माग सुस्त हुँदा बैंकहरूमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले निरन्तर जसो यस्ता उपकरणमार्फत तरलता प्रशोचन गर्दै आएको छ।