इरानसँगको द्वन्द्वमा अमेरिकाका ४२ सैन्य विमान नष्ट, २९ अर्ब डलर नोक्सान - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

इरानसँगको द्वन्द्वमा अमेरिकाका ४२ सैन्य विमान नष्ट, २९ अर्ब डलर नोक्सान



काठमाडाैं । गत फेब्रुअरी २८ मा इरानलाई लक्षित गरी सुरु गरिएको ‘अपरेशन एपिक फ्युरी’ का क्रममा संयुक्त राज्य अमेरिकाका कम्तीमा ४२ वटा सैन्य विमान र ड्रोनहरू नष्ट वा क्षतिग्रस्त भएका छन्।

अमेरिकी संसद् (काङ्ग्रेस) लाई नीतिगत तथा कानुनी विश्लेषण उपलब्ध गराउने संसद् अनुसन्धान सेवा (सीआरएस) को आधिकारिक प्रतिवेदनले यसको पुष्टि गरेको हो।

सीआरएसले रक्षा मन्त्रालय (पेन्टागन) र अमेरिकी सेन्ट्रल कमाण्डका विज्ञप्ति तथा सञ्चार माध्यमका रिपोर्टहरूको अध्ययन गरी यो विवरण तयार पारेको जनाएको छ।

यद्यपि, जारी युद्ध, सूचनाको वर्गीकरण र क्षतिको यकिन पहिचान जस्ता प्राविधिक कारणहरूले गर्दा क्षतिग्रस्त विमानहरूको यो सङ्ख्या आगामी दिनमा थपघट हुन सक्ने प्रतिवेदनमा उल्लेख छ।

यस सैन्य अभियानका क्रममा अमेरिकी वायुसेनाले आफ्ना अत्याधुनिक र बहुमूल्य हवाई सम्पत्तिहरू गुमाउनु परेको विवरणमा उल्लेख छ। नोक्सान भएका ४२ हवाई साधनहरूमध्ये चार वटा ‘एफ-१५ई स्ट्राइक इगल’ लडाकु विमान, एउटा ‘एफ-३५ ए लाइटनिङ-२’ लडाकु विमान र एउटा ‘ए-१० थन्डरबोल्ट-२’ ग्राउन्ड-अट्याक विमान रहेका छन्।

यसैगरी, आकाशमै इन्धन भर्ने सात वटा ‘केसी-१३५ स्ट्र्याटोट्याङ्कर’, एउटा ‘ई-३ सेन्ट्री एवाक्स’ विमान, विशेष अपरेसनका लागि प्रयोग हुने दुई वटा ‘एमसी-१३०जे कमाण्डो-२’ विमान र एउटा ‘एचएच-६० डब्लु जोली ग्रीन-२’ हेलिकप्टरमा पनि क्षति पुगेको छ। यो अभियानमा सबैभन्दा ठूलो सङ्ख्यामा मानवरहित विमान (ड्रोन) प्रभावित भएका छन्, जसमा २४ वटा ‘एमक्यु-९ रिपर ड्रोन’ र एउटा ‘एमक्यु-४सी ट्रिटन ड्रोन’ रहेका छन्।

हवाई उपकरणहरूमा पुगेको यो ठूलो क्षतिका कारण अमेरिकी सैन्य अभियानको बजेटमा भारी वृद्धि भएको छ। गत मे १२ मा संसद्को बजेट उपसमिति (हाउस एप्रोप्रिएसन्स सबकमिटी) मा बयान दिँदै पेन्टागनका कार्यवाहक कम्पट्रोलर जुल्स डब्लू हर्स तृतीयले इरानमा भइरहेको सैन्य परिचालनको अनुमानित खर्च बढेर २९ अर्ब अमेरिकी डलर पुगेको बताए।

सुनुवाइका क्रममा उनले युद्धका क्रममा क्षतिग्रस्त वा नष्ट भएका सैन्य उपकरणहरूको मर्मत सम्भार तथा नयाँ विमान खरिद (प्रतिस्थापन) को लागत पुनरावलोकन गर्दा रक्षा खर्चमा यस किसिमको भारी वृद्धि हुन पुगेको प्रस्ट पारेका छन्।


प्रतिक्रिया दिनुहोस्