दूरसञ्चार प्राधिकरण नेतृत्वको दौड, यी हुन् ६५ जना प्रतिस्पर्धी
काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय, नेपाल दूरसञ्चार प्राधिकरणको नेतृत्व फुत्काउन यतिबेला तीव्र प्रतिस्पर्धा सुरु भएको छ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार रिक्त रहेको अध्यक्ष तथा चार सदस्य पदका लागि आवेदन दिने आकांक्षीहरूको विस्तृत विवरण बाहिर ल्याएको हो।
मन्त्रालयका अनुसार दूरसञ्चारको सर्वोच्च कुर्सीमा बस्नका लागि मात्रै ३२ जना प्रविधि तथा व्यवस्थापन क्षेत्रका विज्ञहरूले इच्छा देखाएका छन्।
यसैगरी, लामो समयदेखि खाली रहेका प्राधिकरणका अन्य चार सदस्य पदका लागि पनि उत्तिकै आकर्षण देखिएको छ, जहाँ थप ३३ जनाले आफ्नो दरखास्त दर्ता गराएका छन्। नेतृत्वविहीन बनेको प्राधिकरणलाई नयाँ दिशा दिन यो प्रशासनिक प्रक्रिया अघि बढाइएको हो।
यस पटक प्राधिकरणको कमान्ड सम्हाल्ने दौडमा नेपालको सञ्चार क्षेत्रमा लामो अनुभव सँगालेका स्थापित अनुहारहरू अग्रपंक्तिमा देखिएका छन्। अध्यक्षका लागि दर्खास्त हाल्नेहरूमा प्राधिकरणकै वर्तमान निमित्त अध्यक्ष अर्जुन घिमिरे, नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य, प्राधिकरणका पूर्वनिर्देशक अम्बर स्थापित र सूचना प्रविधिका ज्ञाता डा. राजिब सुब्बा जस्ता हाइप्रोफाइल व्यक्तिहरू रहेका छन्।
दूरसञ्चार क्षेत्रलाई नजिकबाट बुझेका र यसअघि नै नेतृत्वदायी भूमिका खेलिसकेका यी पात्रहरूको उपस्थितिले आगामी प्रतिस्पर्धा निकै रोचक र चुनौतीपूर्ण हुने संकेत गरेको छ।
प्राधिकरणमा एकाएक सिर्जना भएको यो राजनीतिक र प्रशासनिक रिक्तताको पृष्ठभूमि भने अलि फरक छ। बालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक संयन्त्रलाई चुस्त बनाउने भन्दै ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेपछि यसको प्रत्यक्ष असर दूरसञ्चार क्षेत्रमा परेको हो।
राष्ट्रपतिद्वारा प्रमाणित उक्त अध्यादेशले विगतका सरकारहरूबाट राजनीतिक नियुक्ति पाएका झन्डै १५ सय ३४ जना पदाधिकारीलाई एकै झट्कामा जिम्मेवारीमुक्त गरिदिएको थियो।
सोही कानुनी व्यवस्थाको जगमा मन्त्रालयले गत वैशाख २१ गते प्राधिकरणका तत्कालीन अध्यक्ष भुपेन्द्र भण्डारीसहित सदस्यहरू कृष्णप्रसाद पोख्रेल, नवराज अधिकारी, रविन्द्र झा र गोकर्णप्रसाद सिटौलालाई पदच्युत गरेको थियो।
अहिले हुन लागेको यो नयाँ नियुक्ति प्रक्रिया सोही रिक्ततालाई पूर्ति गर्ने सरकारी प्रयासको निरन्तरता हो।
सबै आवेदकहरुको नामावली हेर्नुहोस् :
















