प्रविधिभित्र 'मानवीय' नेतृत्वको खोजी गर्न भव्य सम्मेलन हुँदै - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रविधिभित्र ‘मानवीय’ नेतृत्वको खोजी गर्न भव्य सम्मेलन हुँदै



काठमाडौँ । संसारभर आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको लहर चलिरहँदा नेपालको श्रम र नेतृत्वको बजार पनि यसबाट अछुतो रहन सकेको छैन। यही बदलिँदो परिवेशलाई मध्यनजर गर्दै काठमाडौँमा मानव संशाधन क्षेत्रको भविष्य र प्रविधिको भूमिकाबारे एउटा विशेष बहस हुने भएको छ।

आगामी जेठ १३ गते काठमाडौँ फिन्टेकको व्यवस्थापनमा हुन लागेको यो सम्मेलनले खासगरी प्रविधिको तीव्र विकासमाझ संस्थागत नेतृत्वलाई कसरी अगाडि बढाउने र जनशक्तिलाई कुन दिशा दिने भन्ने विषयमा मन्थन गर्नेछ। डिजिटल रूपान्तरण, बैंकिङ र एआई क्षेत्रका ज्ञाताहरूलाई एउटै थलोमा उभ्याएर नेपाली श्रम बजारको आगामी मार्गचित्र कोर्नु यसको मुख्य ध्येय देखिन्छ।

परम्परागत रूपमा कर्मचारीको भर्ना गर्ने, हाजिरी राख्ने वा तलबको हिसाबकिताब मिलाउने काममा मात्र सीमित रहने बुझाइलाई चिर्दै अबको मानव संशाधन क्षेत्र तथ्याङ्कमा आधारित र दूरदर्शी हुनुपर्ने आवाज उठ्न थालेको छ।

सम्मेलनले संस्थालाई प्रतिस्पर्धी बनाउनका लागि एआई र डिजिटल माध्यमलाई कसरी उपयोग गर्ने भन्ने व्यावहारिक पक्षमा जोड दिएको छ। कार्यथलोमा एआईको प्रयोग बढाउँदा कर्मचारीको कार्यक्षमता कसरी सुधार्न सकिन्छ, डिजिटल युग सुहाउँदो नेतृत्व कसरी विकास गर्ने र भविष्यका लागि कस्ता सीपहरू आवश्यक पर्छन् भन्नेबारे सम्मेलनमा गम्भीर विमर्श हुने आयोजकले जनाए।

यस बहसमा आफ्नो अनुभव र दृष्टिकोण राख्न छिमेकी मुलुक भारत र नेपालका स्थापित विशेषज्ञहरू काठमाडौँमा भेला हुँदैछन्। भारतीय बैंकिङ तथा वित्तीय क्षेत्रमा लामो समयदेखि आबद्ध रहेर एआई परियोजनाहरूको सफल कार्यान्वयन गराएका हर्ष कुमारले प्रविधि भित्र्याउँदा संस्थाको कार्यसंस्कृति कसरी बदलिन्छ र त्यसमा मानव संशाधनको भूमिका कस्तो हुन्छ भन्ने पक्ष उजागर गर्नेछन्।

त्यस्तै, कर्पोरेट नेतृत्व र एआईको संयोजनमा दख्खल राख्ने विज्ञ शिल्पाले यसको व्यावहारिक पाटो खोतल्नेछिन् भने नेपाली बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग र त्यसका चुनौतीबारे विशेषज्ञ आलोकले स्थानीय भुइँमान्छेको अनुभव र अवसरहरूका बारेमा आफ्ना धारणा राख्नेछन्।

आयोजकका अनुसार यस सम्मेलनको अर्को महत्त्वपूर्ण पाटो भनेको एचआर क्षेत्रमा भर्खरै पाइला चाल्दै गरेका युवा प्रतिभाहरूलाई ऊर्जा दिनु र उनीहरूको क्षमतालाई बाहिर ल्याउनु हो। अबको मानव संशाधन केवल प्रशासनिक काममा मात्र अल्झिनु हुँदैन, बरु यसले ‘पिपल इन्टेलिजेन्स’ अर्थात् मानवीय बुद्धिमत्ता र तथ्याङ्कलाई जोडेर रणनीतिक निर्णय लिन सक्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न खोजिएको छ।

विभिन्न उद्योग र व्यवसायका उच्च अधिकारी, विभागीय प्रमुख तथा मानव संशाधन प्रबन्धकहरूका लागि यो जमघट आफ्नो कार्यशैली र सांगठनिक रणनीतिलाई आधुनिक युग सुहाउँदो बनाउन एउटा कोसेढुङ्गा सावित हुन सक्छ।


प्रतिक्रिया दिनुहोस्