मध्यपूर्वको युद्धले श्रीलङ्काको चिया उद्योग संकटमा, २४ लाख मजदुरको भान्सा प्रभावित - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मध्यपूर्वको युद्धले श्रीलङ्काको चिया उद्योग संकटमा, २४ लाख मजदुरको भान्सा प्रभावित



काठमाडाैं । झण्डै ३ महिनादेखि मध्यपूर्वमा जारी युद्धका कारण श्रीलङ्काको चिया उद्योग गम्भीर संकटमा परेको छ।

श्रीलङ्काको सरकारी निर्यात विकास बोर्ड (ईडीबी) का अनुसार युद्धको प्रत्यक्ष असर परेपछि गत मार्च महिनामा मात्रै चिया निर्यातबाट हुने आम्दानी वार्षिक रूपमा १७.३ प्रतिशतले घटेर ११ करोड ४७ लाख डलरमा सीमित भएको छ।

तथ्याङ्क अनुसार सिलोन चियाको सबैभन्दा ठूलो खरिदकर्ता इराकतर्फको निर्यात ३८ प्रतिशतले घटेको छ भने संयुक्त अरब इमिरेट्स (यूएई) तर्फको ढुवानीमा ९३ प्रतिशतको ऐतिहासिक गिरावट आएको छ। यसैगरी, वार्षिक ८० देखि १०० लाख किलोग्राम प्रिमियम चिया आयात गर्ने इरानसँगको व्यापार पनि युद्ध र ढुवानी अवरोधका कारण नराम्ररी प्रभावित भएको छ।

यस संकटले विश्वका १०८ देशमा आफ्नो चिया पुर्‍याउने प्रसिद्ध ब्रान्ड ‘दिल्मा’ लाई समेत ठूलो मारमा पारेको छ। दिल्माको कुल व्यापारको ३० प्रतिशत हिस्सा मध्यपूर्वी देशहरूले मात्र ओगट्थ्यो। तर अहिले ढुवानी र यातायातमा आएको अवरोधका कारण दिल्माले आफ्नो ध्यान क्यानडा, दक्षिण अमेरिका र अमेरिकातर्फ मोड्न बाध्य भएको छ।

श्रीलङ्काको प्रसिद्ध ‘सिलोन चिया’ को सबैभन्दा ठूलो बजार मध्यपूर्व नै हो। वार्षिक करिब ६८ करोड डलर बराबरको झन्डै आधा चिया निर्यात यही क्षेत्रमा हुने गर्छ। द्वन्द्वका कारण निर्यात ठप्प भएपछि चिया बगानका मजदुरहरू सबैभन्दा बढी मारमा परेका छन्।

चिया निर्यातमा आएको यो संकुचनले उद्योगमा मात्र नभई यसमा आश्रित लाखौँ मजदुरहरूको भान्सामा समेत संकट निम्त्याएको छ। श्रीलङ्काको १.५ अर्ब अमेरिकी डलरको यो विशाल चिया उद्योगमा करिब २४ लाख मानिस आश्रित छन्, जसमध्ये आधाभन्दा बढी मजदुरहरू अन्तर्राष्ट्रिय गरिबीको रेखा (दैनिक ३.६५ डलर) मुनि बाँच्न विवश छन्।

चिया बगानका मजदुरहरूले दैनिक १,३५० देखि १,७५० श्रीलङ्काली रुपैयाँ (करिब ४.३० देखि ५.५० अमेरिकी डलर) मात्र ज्याला पाउँछन्, जुन बढ्दो महंगीको तुलनामा निकै कम हो।

चिया बगानका श्रमिकहरू अहिले खाना पकाउने ग्यास छोडेर पुनः दाउराको चुल्होमा फर्कन बाध्य भएका छन्। महंगीकै कारण बगान क्षेत्रका बालबालिकाहरू स्कुल जान छाडेका छन् भने मानिसहरू छाक काटेर बस्न विवश छन्। कतिपय मजदुरहरू त बगानै छाडेर सहर पस्न थालेका छन्।

चिया उद्योगमा लागेको यो नयाँ धक्काले श्रीलङ्काको समग्र अर्थतन्त्रलाई फेरि गम्भीर संकटतर्फ धकेल्ने जोखिम बढाएको छ। युद्धको प्रत्यक्ष असरका कारण श्रीलङ्का सरकारले देशमा इन्धनको मूल्य ४० प्रतिशतसम्म बढाइसकेको छ भने इन्धन खपत घटाउन बुधबार सार्वजनिक बिदा दिने घोषणा समेत गरेको छ। यदि मध्यपूर्वको यो युद्ध अझै लम्बिएमा श्रीलङ्काका लाखौँ चिया मजदुरहरूले थप भयावह परिस्थितिको सामना गर्नुपर्ने देखिन्छ।


प्रतिक्रिया दिनुहोस्