अदालतको ‘हरियो झण्डा’सँगै महासंघमा ६ जना सदस्य मनोनित, आजै दुई पदाधिकारी थपिने - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

अदालतको ‘हरियो झण्डा’सँगै महासंघमा ६ जना सदस्य मनोनित, आजै दुई पदाधिकारी थपिने



नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को केन्द्रीय कार्यसमितिमा छ जना नयाँ सदस्यहरू थपिएका छन्। महासंघका अध्यक्ष अन्जन श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले विभिन्न संघसंस्था र क्षेत्रका उद्यमीहरूलाई कार्यकारिणी सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो।

यसरी मनोनीत हुनेहरूमा नेपाल कत्था उत्पादक संघ (ललितपुर) का शिवप्रसाद घिमिरे, ललितपुर उद्योग वाणिज्य संघका मनीषलाल प्रधान र मोरङ उद्योग व्यापार संघका नवीन रिजाल रहेका छन्। यसैगरी महिला उद्यमी महासंघ (काठमाडौं) बाट दर्शना श्रेष्ठ, हिमालयन बेम्बो (काठमाडौं) बाट सहारा जोशी र पोखरा उद्योग वाणिज्य संघका गोकर्ण कार्की पनि महासंघको केन्द्रीय कार्यसमितिमा छानिएका छन्।

यसैबीच, महासंघले आजै नयाँ वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्दैछ। महासंघको परिमार्जित विधान अनुसार अब वरिष्ठ उपाध्यक्ष स्वतः आगामी अध्यक्ष बन्न पाउने छैनन्। तर, मर्यादाक्रममा अध्यक्ष र निवर्तमान अध्यक्षपछिको तेस्रो वरीयतामा रहने भएकाले यो पदलाई निकै चासोका साथ हेरिएको छ।

नयाँ व्यवस्था अनुसार आउँदो २०८५ सालको चैतमा हुने निर्वाचनमा हाल निर्वाचित हुने वरिष्ठ उपाध्यक्षले पनि अन्य प्रतिस्पर्धीसरह नै अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिनुपर्नेछ। अर्कोतर्फ, कोषाध्यक्ष पदलाई भने मुख्य रूपमा पदाधिकारी बन्ने योग्यता पूरा गर्ने अवसरका रूपमा लिइएको छ।

हिजोमात्रै पाटन उच्च अदालतले पहिले सदस्यहरु मनोनित गरेरमात्रै पदाधिकारीको चयन गर्ने नयाँ नेतृत्वको योजनामा अंकुश लगाउन नपर्ने भनेर बाटो खोलिदिएको थियो । अब आज सम्भवत: सुरकृष्ण वैद्य वरिष्ठ उपाध्यक्षमा र मनीष प्रधान कोषाध्यक्षमा चुनिन सक्ने संभावना रहेको महासंघ सम्बद्ध व्यवसायीहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्