बैंक कर्मचारीका लागि खुसीको खबर: कार्यालय समयपछिको काममा प्रतिबन्ध, ओभरटाइम अनिवार्य
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा लामो समयदेखि बहसको विषय बनेको ‘अतिरिक्त कार्यघण्टा’ र ‘कर्मचारी शोषण’ विरूद्ध कडा निर्देशन जारी गरेकाे छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा कार्यरत कर्मचारीहरूको अधिकार संरक्षण गर्दै एकीकृत निर्देशन, २०८२ मा संशोधन गरेको हाे ।
पछिल्लो निर्देशनसँगै अब बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना कर्मचारीहरूलाई प्रचलित कानून तथा राष्ट्र बैंकको निर्देशन नम्बर १४ को बुँदा नम्बर ३ को परिधिभित्र रहेर मात्र काममा लगाउनुपर्नेछ । यसकाे अर्थ अबदेखि कर्मचारीहरूलाई कार्यालय समयबाहेकको समयमा काम गर्न बाध्य पार्न पाइने छैन
यदि कुनै विशेष परिस्थितिमा कर्मचारीलाई कार्यालय समयभन्दा अतिरिक्त समयमा काममा खटाउनै पर्ने भएमा, प्रचलित व्यवस्था बमोजिम अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक प्रदान गर्नुपर्नेछ ।
यसले कर्मचारीहरूको कार्य-जीवन सन्तुलनलाई सुदृढ बनाउनुका साथै उनीहरूको श्रमको उचित कदर गर्ने वातावरण सिर्जना गर्ने विश्वास लिइएको छ ।













