१० लाखभन्दा बढी आप्रवासी परिवार संकटमा: ग्रीन कार्डको नयाँ नियमले नेपाल लगायतका आवेदकलाई के असर गर्छ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

१० लाखभन्दा बढी आप्रवासी परिवार संकटमा: ग्रीन कार्डको नयाँ नियमले नेपाल लगायतका आवेदकलाई के असर गर्छ?



काठमाडाैं । । आप्रवासीहरूको ‘सपनाको देश’ मानिने अमेरिकाले कानुनी आप्रवासनको इतिहासमै एउटा निकै कठोर र अभूतपूर्व नीति घोषणा गरेको छ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससीआईएस) द्वारा जारी नयाँ नियमअनुसार अब अमेरिकाभित्रै बसेर ग्रीन कार्ड (स्थायी बसोबासको अनुमति) आवेदन दिने वा ‘भिसा स्टेटस’ परिवर्तन गर्ने बाटो पूर्ण रूपमा बन्द भएको छ।

नयाँ नीति लागू भएसँगै, अब ग्रीन कार्डको चाहना राख्ने अधिकांश विदेशीहरूले अनिवार्य रूपमा अमेरिका छोड्नुपर्नेछ र आ-आफ्नो स्वदेशमा रहेका अमेरिकी दूतावास वा कन्सुलर कार्यालयमार्फत मात्र आवेदन प्रक्रिया अघि बढाउनुपर्नेछ।

पर्यटक, विद्यार्थी र कामदारलाई सिधै धक्का: बन्द भयो कानुनी ‘छिद्र’

ट्रम्प प्रशासनको अवैध आप्रवासन रोक्ने शृङ्खलाबद्ध प्रयास अन्तर्गत यो कदम चालिएको हो। यसअघि भिजिटर, विद्यार्थी वा अस्थायी कामदार भिसामा अमेरिका पुगेका विदेशीहरूले त्यहीँ भित्रैबाट ग्रीन कार्डका लागि आवेदन दिने कानुनी छिद्रको प्रयोग गर्दै आएका थिए।

युएससीआईएसका प्रवक्ता ज्याक काहलरले अबदेखि अस्थायी रूपमा अमेरिकामा रहेका र ग्रीन कार्ड चाहने विदेशीहरू असाधारण अवस्थाबाहेक अनिवार्य रूपमा आफ्नै देश फर्कनुपर्ने बताए।

उनले भने, ‘अमेरिका भ्रमण गर्नु भनेको ग्रीन कार्ड प्रक्रियाको पहिलो कदम हुनु हुँदैन। हामी कानुनको मूल मर्ममा फर्किएका हौँ।’

यसैगरी, युएससीआईएसलाई हेर्ने अमेरिकी गृह मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मा चेतावनीपूर्ण शैलीमा अमेरिकाकाे आप्रवासन प्रणालीको दुरुपयोग गर्ने युग अब समाप्त भएको लेखेको छ।

१० लाखभन्दा बढी आवेदक अन्योलमा, परिवार विछोडिने खतरा

यो नीतिको घोषणासँगै अमेरिकामा कानुनी रूपमा बस्दै आएका लाखौँ आप्रवासी परिवारहरू गहिरो संकट र अन्योलमा परेका छन्। क्याटो इन्स्टिच्युटको तथ्याङ्क अनुसार हाल अमेरिकाभित्रै बसेर ग्रीन कार्डको पर्खाइमा रहेका वैध आप्रवासीहरूको सङ्ख्या १० लाखभन्दा बढी छ।

अधिकारकर्मी र आप्रवासनविद्हरूले यो नीतिको कडा आलोचना गरेका छन्। उनीहरूका अनुसार पुरानो प्रणालीले लामो र झन्झटिलो आवेदन प्रक्रियाका क्रममा पनि परिवारलाई सँगै बस्ने अनुमति दिएको थियो। तर अब, ग्रीन कार्डको आशमा अमेरिका छोडेर स्वदेश फर्कने कतिपय आप्रवासीहरू ‘भिसा ओभरस्टे’ वा अन्य प्राविधिक कारणले १० वर्षसम्म अमेरिका पुनः प्रवेश गर्न नपाउने कडा कानुनी चक्रव्यूहमा फस्न सक्नेछन्।

रिपब्लिकन र डेमोक्र्याट दुवै प्रशासनमा वरिष्ठ अधिकारी रहिसकेका आप्रवासन विज्ञ माइकल भालभर्डेले बीबीसीसँगको कुरा गर्दै यसलाई ‘अभूतपूर्व र प्रत्युत्पादक’ कदम भनेका छन्। उनले भने “यसले वार्षिक रूपमा लाखौँ परिवार र रोजगारदाताहरूको योजनालाई भताभुङ्ग पार्नेछ। नियम पालना गरिरहेका मानिसहरू अहिले ठूलो त्रास र अन्योलमा छन्।”

के सबैका लागि नियम उस्तै हो?

एससीआईएसले हाल प्रक्रियामा रहेका आवेदनहरूका हकमा ‘केस-बाय-केस’ अध्ययन गरिने जनाएको छ। अमेरिकी अर्थतन्त्रलाई प्रत्यक्ष फाइदा पुर्‍याउने वा राष्ट्रिय स्वार्थ जोडिएका केही विशिष्ट आवेदकहरूलाई पुरानो मार्गबाटै निरन्तरता दिन सकिने भए पनि अन्य बहुसंख्यक आवेदकहरूले भने देश छाड्नै पर्ने बाध्यता सिर्जना भएको छ।

ट्रम्प प्रशासनले यसअघि नै करिब ४० देशका नागरिकमाथि विभिन्न प्रतिबन्ध लगाइसकेको छ भने चालू वर्षमा ७५ देशका आवेदकहरूका लागि आप्रवासी भिसा जारी गर्ने प्रक्रियामा समेत रोक लगाएको छ। यो नयाँ निर्णयले अमेरिकामा कानुनी रूपमा स्थायी हुन चाहने विश्वभरका लाखौँ मानिसहरूको सपनामा ठूलो धक्का पुर्‍याएको छ।


प्रतिक्रिया दिनुहोस्