उड्डयन प्राधिकरणकाे महानिर्देशक नियुक्तिदेखि धानको मूल्य तोक्नेसम्म: यी हुन् मन्त्रिपरिषद्का ४ मुख्य निर्णयहरू
काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव डंगोललाई नियुक्त गर्ने सहित विभिन्न ४ निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकपछि आयोजित पत्रकार सम्मेलनमार्फत ती निर्णयहरू सार्वजनिक गरेका छन्।
बैठकले नेपाल र चीनबीचको ऊर्जा सहकार्यलाई अघि बढाउने उद्देश्यका साथ नेपाल-चीन जोड्ने विद्युत् प्रशारण लाइन आयोजना ‘चिलिमे-केरुङ’ को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतित्यूतर पत्र (लेटर अफ रिप्लाई) स्वीकृत गर्ने निर्णय गरेको छ।
त्यसैगरी, किसानहरूको हितलाई ध्यानमा राख्दै आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वर्षे धानबालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ। जसअनुसार मोटो धानको मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ८ सय ६० रुपैयाँ तोकिएको छ।
मन्त्रिपरिषद् बैठकले सहकारी क्षेत्रमा देखिएका समस्या र बचतकर्ताको रकम अपचलनबारे अध्ययन गर्न गठित ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२’ को प्रतिवेदनलाई पनि सार्वजनिक गर्ने निर्णय गरेको छ।
















