शान्ति वार्ताकै बीच इरानमा अमेरिकी हमला, सम्झौता नभए थप आक्रमण गर्ने ट्रम्पको चेतावनी
काठमाडौँ । अमेरिका र इरानबीच तीन महिनादेखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यका साथ कतारको दोहामा उच्च स्तरीय शान्ति वार्ता भइरहेकै समयमा अमेरिकी सेनाले दक्षिणी इरानमा फेरि नयाँ आक्रमण गरेको छ ।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानी शक्तिहरूबाट आफ्ना सैनिकहरूमाथि हुन सक्ने सम्भावित खतराबाट जोगिन आत्मरक्षाका लागि यो कदम चालिएको हो ।
सो क्षेत्रमा समुद्रमा माइन विछ्याउन खोज्ने डुङ्गाहरू र मिसाइल प्रक्षेपण केन्द्रहरूलाई लक्षित गरी अमेरिकाले क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।
यो सैन्य टकरावका बीच इरानका विदेश मन्त्री र मुख्य वार्ताकारहरू कतारका प्रधानमन्त्रीसँग निर्णायक छलफलका लागि दोहामा छन् ।
अमेरिकी विदेश मन्त्री मार्को रुबियोले नयाँ दिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकाले कूटनीतिलाई सफल हुने हरसम्भव मौका दिइरहेको र स्ट्रेट अफ हर्मुज खुला गर्ने तथा आणविक विषयमा समयसीमा भित्र रहेर गम्भीर वार्ता अघि बढाउने प्रस्ताव टेबलमा रहेको बताएका छन् ।
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै इरानसँगको वार्ता राम्ररी अघि बढिरहेको तर सम्झौता असफल भएमा थप भयानक आक्रमण हुने चेतावनी दिएका छन् ।
उनले यस वार्तालाई क्षेत्रीय रूपमा इजरायलसँगको सम्बन्ध सामान्यीकरण गर्ने ‘अब्राहम सम्झौता’ सँग जोड्दै साउदी अरब, कतार, पाकिस्तान, इजिप्ट, जोर्डन र टर्कीलाई यसमा अनिवार्य सहभागी हुन दबाब दिएका छन्, जसलाई विश्लेषकहरूले ट्रम्पको नयाँ मध्यपूर्व रणनीतिका रूपमा हेरेका छन् ।
वार्ताको मुख्य एजेन्डा हर्मुज स्ट्रेट खुला गर्ने र इरानको समृद्ध युरेनियम भण्डारको व्यवस्थापनमा केन्द्रित छ । इरान र अमेरिकाबीच युद्ध अन्त्य भएको ३० दिनपछि सो जलमार्ग खोल्ने र त्यसको अर्को ३0 दिनभित्र इरानले त्यहाँका माइनहरू सफा गर्ने विषयमा छलफल भइरहेको छ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेयता दैनिक १४० सम्म जहाज चल्ने सो क्षेत्रमा अचेल केही दर्जन मात्र जहाज आवतजावत गरिरहेका छन्, जसका कारण विश्व बजारमा इन्धन र खाद्यान्नको मूल्य बढेको छ । वार्ता सकारात्मक दिशामा अघि बढेको खबर सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ४ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।
















