जापानले बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी रुपमा बनाउन सुरु - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

जापानले बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी रुपमा बनाउन सुरु



काभ्रेपलाञ्चोक । जापानको सहयोगमा बिपी राजमार्गको काभे्रपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको आजदेखि पुन:निर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रुपमा उक्त परियोजनाको शिलान्यास गरेका हुन् ।

जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को आर्थिक तथा प्राविधिक सहयोगमा उक्त सडकखण्डमा पर्ने ३.२ किलोमिटर सडकखण्डको पुनर्निर्माण सुरु भएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेहले जानकारी दिए । २०८१ असोज १२ को बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली करिब ३० किलोमिटर सडकखण्ड पुनर्निर्माण तथा मर्मत गर्नुपर्ने देखिएको छ ।

पिप्ले–बर्खेखोला सडकखण्डको जापानस्थित सिमिजु कर्पाेरेसनले निर्माणको जिम्मा लिएको हो । योगेशका अनुसार जापानले दुई अर्ब ८० करोड येन अनुदान दिनेगरी २०८२ कात्तिक १३ गते द्विपक्षीय सम्झौता भएको थियो । बाँकी प्रक्रिया पूरा गरेर निर्माण सुरु गरिएको जनाइएको छ ।

यसअघि जाइका टोलीले पूर्वतयारीस्वरुप क्याम्प बनाउने, अस्थायी बाटो बनाउनेलगायत काम गरेको छ । योसमेत गरी हाल बिपी राजमार्गको क्षतिग्रस्त सडक चार खण्डमा निर्माणाधीन अवस्थामा रहेको हो ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास १६० किमी सडक) निर्माण सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्