यी हुन् सम्पति विवरण नबुझाउने रास्वपाका ५ सांसद - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

यी हुन् सम्पति विवरण नबुझाउने रास्वपाका ५ सांसद



काठमाडौं । संघीय संसद् सचिवालयले तोकेको समयसीमाभित्र प्रतिनिधिसभाका ६ जना सांसदले आफ्नो सम्पत्ति विवरण बुझाउन ढिलाइ गरेका छन्।

सचिवालयले जेठ १० गतेसम्म सम्पत्ति विवरण बुझाउन समय दिएकोमा २७५ सदस्यीय प्रतिनिधिसभाका २५४ जना सांसदले मात्रै विवरण बुझाएका हुन्।

हाल कायम १७ मन्त्रीमध्ये एक बहालवाला र एक पूर्वमन्त्रीले संसद् सचिवालयमै विवरण बुझाएका छन् भने बाँकी मन्त्रीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विवरण बुझाउन सक्ने व्यवस्था छ।

समयमै सम्पत्ति विवरण नबुझाउने ६ सांसदमध्ये ५ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रहेका छन्। विवरण नबुझाउने रास्वपाका सांसदहरूमा मोरङकी आशा झा, कैलालीका कोमल ज्ञवाली, सिरहाका तपेश्वर यादव, महोत्तरीका प्रमोद कुमार महतो र सर्लाहीका रबिन महतो रहेका छन्।

विवरण नबुझाउने अर्का एक सांसद नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर बुढा हुन्, जसले म्याद थपका लागि सचिवालयमा निवेदन दिएका छन्। कानुनतः निवेदन स्वीकृत भएमा उनले थप ३० दिनको समय पाउने भए पनि रास्वपाका ५ सांसदले भने म्याद थपका लागि समेत कुनै निवेदन दिएका छैनन्।

भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्तिको स्रोतसहितको विवरण पेस गर्नुपर्ने अनिवार्य कानुनी व्यवस्था छ।

यसरी समयमै सम्पत्ति विवरण पेस नगर्ने सांसदहरूलाई १० हजार रुपैयाँ जरिबाना हुनेछ। साथै, कानुनबमोजिम विवरण नबुझाउनेहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनको आशंकामा छानबिन प्रक्रियासमेत अगाडि बढाउन सक्ने कानुनी प्रावधान रहेको छ।


प्रतिक्रिया दिनुहोस्