फर्मामा नम्बर १ बन्ने देउराली जनताको रणनीति, ५ अर्ब थपेर नयाँ उद्योग खोल्दै  - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

फर्मामा नम्बर १ बन्ने देउराली जनताको रणनीति, ५ अर्ब थपेर नयाँ उद्योग खोल्दै 



  काठमाडौँ । देउराली जनता फर्मास्युटिकल्सले आफ्नो बजार उपस्थिति र उत्पादन क्षमतालाई अभूतपूर्व रूपमा विस्तार गर्ने बृहत् योजना अघि सारेको छ। मुलुककै सबैभन्दा ठुलो र प्रतिष्ठित ब्रान्ड भ्यालु भएको यस फर्मा कम्पनीले चितवनको मङ्गलपुरमा करिब ५ अर्ब रुपैयाँको लागतमा अत्याधुनिक नयाँ औषधि कारखाना स्थापना गर्ने प्रक्रिया अघि बढाएको हो।

यो नयाँ उद्योग स्थापनासँगै कम्पनीको व्यवसायलाई नयाँ उचाइमा पुऱ्याउने रणनीतिक कदमका कारण अल्पकालीन रूपमा वित्तीय सूचकहरूमा केही परिमार्जन देखिए पनि यसले दीर्घकालीन रूपमा देशलाई औषधिमा आत्मनिर्भर बनाउन र कम्पनीको साख अझ बलियो पार्न जग बसाल्ने देखिएको छ।

नयाँ उद्योग स्थापनाका लागि आवश्यक पुँजी जुटाउन कम्पनीले आफ्नो कर्जाको सीमा बढाएसँगै रेटिङ एजेन्सी इक्रा नेपालले यसको क्रेडिट रेटिङमा केही संशोधन गरेको छ। इक्रा नेपालको पछिल्लो प्रतिवेदनअनुसार देउराली जनताको दीर्घकालीन कर्जाको रेटिङ ‘एल ए माइनस’ बाट ‘एल त्रिबल बी प्लस’ र अल्पकालीन ऋणको रेटिङ ‘ए२ प्लस’ बाट ‘ए२’ मा कायम गरिएको छ।

नयाँ परियोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको अनुपातमा वित्तीय व्यवस्थापन गर्न लागिएकाले भविष्यमा बढ्ने ऋणको भारलाई ध्यानमा राखेर यो प्राविधिक फेरबदल गरिएको हो। रेटिङ एजेन्सीले ऋणको दायित्व थपिँदा मध्यम अवधिसम्म ऋण भुक्तानी सूचकहरूमा केही दबाब पर्न सक्ने उल्लेख गरे पनि कम्पनीको जग र व्यवस्थापकीय क्षमता अत्यन्तै सुदृढ रहेका कारण वित्तीय दायित्व पूरा गर्ने सवालमा कम्पनी पूर्ण सुरक्षित रहेको स्पष्ट पारेको छ।

वास्तवमा यो रेटिङ परिमार्जन कम्पनीको कमजोर कार्यसम्पादनका कारण नभई भविष्यमा व्यवसाय विस्तार गर्ने उद्देश्यले गरिएको ठुलो लगानीको स्वाभाविक परिणाम हो।

वित्तीय विवरणअनुसार चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा देउराली जनताले १ अर्ब ४५ करोड १० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ। गत आर्थिक वर्षमा कम्पनीको कुल कारोबार २ अर्ब ३५ करोड रुपैयाँ पुगेको थियो, जुन त्यस अघिका वर्षहरूमा क्रमशः २ अर्ब २ करोड, १ अर्ब ८६ करोड, १ अर्ब ७० करोड र १ अर्ब ४६ करोड रुपैयाँको तुलनामा निरन्तरको बलियो वृद्धि हो।

चालू आर्थिक वर्षको ९ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा व्यापारमा करिब ३ प्रतिशतको सामान्य गिरावट र सञ्चालन नाफा १९ प्रतिशतबाट घटेर १६.२ प्रतिशतमा झरेको देखिएको छ । तर यसो हुनुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको दबाब र कच्चा पदार्थको आयातमा आएको उतारचढाव मुख्य कारण रहेको इक्राले बताएको छ ।

ठुलो लगानीको गुरुयोजना अघि बढाउँदा पनि देउराली जनताको वर्तमान वित्तीय स्वास्थ्य र तरलता स्थिति अत्यन्तै मजबुत एवं लोभलाग्दो देखिन्छ। कम्पनीको ब्याज तिर्न सक्ने क्षमता बुझाउने ‘इन्ट्रेस्ट कभरेज रेसियो’ ८.७ गुणा र ऋण सेवा कभरेज अनुपात ४.६ गुणा रहेको छ, जसले कम्पनीको वर्तमान नाफा र आम्दानी बैंकको साँवा-ब्याज सजिलै भुक्तान गर्नका लागि आवश्यकताभन्दा बढी रहेको प्रमाणित गर्छ।

हालसम्म कम्पनीमा ऋणको भार नेटवर्थको तुलनामा शून्य दशमलव ४ गुणा मात्र हुनुले यो कम्पनी वित्तीय रूपमा कति सुरक्षित र अनुशासित छ भन्ने प्रस्ट पार्छ।

त्यस्तै कम्पनीले आफ्नो कार्यशील पुँजी कर्जाको ५३ प्रतिशत हिस्सा मात्र उपयोग गरेकाले बैंकहरूबाट थप ५७ करोड ७० लाख रुपैयाँ तत्कालै परिचालन गर्न सक्ने पर्याप्त स्पेस बाँकी छ, जसले कम्पनीलाई कुनै पनि प्रकारको वित्तीय धक्काबाट जोगाउने बलियो रक्षा कवच प्रदान गर्दछ।

सन् १९९१ मा स्थापित यस ऐतिहासिक कम्पनीको मुख्य नेतृत्व र प्रवर्द्धन वरिष्ठ उद्योगी हरिभक्त शर्माले गरिरहेका छन्। उनी कम्पनीका अध्यक्ष तथा कार्यकारी निर्देशक हुन् र उनको यस कम्पनीमा करिब ७१ प्रतिशत सेयर स्वामित्व छ । बाँकी सेयर उनका परिवारका सदस्य र निकटका व्यावसायिक सहयोगीहरूको रहेको छ।

शर्माको तीन दशक लामो व्यावसायिक अनुभव, कुशल नेतृत्व र स्वच्छ छविका कारण देउराली जनताले बजारमा अद्वितीय विश्वास कमाएको छ। हाल कम्पनी यो कम्पनीले मुटु, मधुमेह, स्त्री रोग, बाल स्वास्थ्य र छालाग रोग जस्ता गम्भीर प्रकृतिका जीवनशैलीसँग जोडिएका रोगहरूसँग लड्ने औषधि उत्पादन गर्छ ।

यस सहित कुल २५० भन्दा बढी प्रकारका उच्च गुणस्तरीय औषधि उत्पादन गर्ने क्षमता कम्पनीसँग छ। यी औषधिको वितरणका लागि कम्पनीले देशभर २०० भन्दा बढी आधिकारिक वितरकहरूको देशव्यापी र भरपर्दो सञ्जाल खडा गरेको छ, जसले आगामी दिनमा उत्पादन बढाउँदा बजार व्यवस्थापन गर्न निकै सहज हुने देखिन्छ।

नेपाली औषधि बजारमा भारत लगायतका देशहरूबाट आउने सस्तो मूल्यका औषधिको तीव्र प्रतिस्पर्धा, शतप्रतिशत कच्चा पदार्थ आयातमा निर्भर रहनुपर्ने बाध्यता र नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा अन्तर्राष्ट्रिय रूपमा औषधि क्षेत्रले पाउने केही पेटेन्ट सम्बन्धी सुविधाहरू गुम्न सक्ने जस्ता नीतिगत चुनौतीहरू अवश्य छन्।

तर देउराली जनता फर्मास्युटिकल्सले यी चुनौतीहरूलाई अवसरका रूपमा बदल्ने रणनीति तय गरेको छ। चितवनमा स्थापना हुन लागेको अत्याधुनिक उद्योगले कम्पनीको उत्पादन लागत घटाउन, प्रविधिको आधुनिकीकरण गर्न र बजारमा नयाँ प्रकारका उत्पादनहरू ल्याउन मद्दत गर्नेछ।

आफ्नै आन्तरिक पुँजीको बलियो जग, दूरदर्शी प्रवर्द्धक र बजारमा स्थापित बलियो ब्रान्ड भ्यालुका कारण देउराली जनताले आगामी दिनमा पनि नेपाली औषधि बजारमा आफ्नो अभूतपूर्व प्रभुत्व र गुणस्तरको साखलाई निरन्तरता दिन सक्छ ।


प्रतिक्रिया दिनुहोस्