१० श्रावण २०८३, आइतबार

शाओमीको एउटै गाडीमा साढे ८ लाख घाटा, विक्री बढे पनि बढेन आम्दानी

शाओमीको एउटै गाडीमा साढे ८ लाख घाटा, विक्री बढे पनि बढेन आम्दानी



सन् २०२६ को पहिलो त्रैमासिकमा चिनियाँ प्रविधि कम्पनी शाओमीले आफ्ना विद्युतीय गाडीको बिक्रीमा उल्लेख्य वृद्धि गरे पनि प्रत्येक कार बिक्रीबापत ५,६०० अमेरिकी डलर घाटा ब्यहोरेको छ।

काठमाडौँ । चिनियाँ प्रविधि कम्पनी शाओमी ग्रुपले आज सन् २०२६ को पहिलो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार कम्पनीको स्मार्ट विद्युतीय गाडी (इभी) र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नवप्रवर्तन क्षेत्रले १९ अर्ब ९० करोड युआन अर्थात् ४ खर्ब ४३ अर्ब रुपैयाँ आम्दानी गरेको छ।

तर यस अवधिमा कम्पनीले ३ अर्ब १० करोड युआन अर्थात् ६९ अर्ब रुपैयाँभन्दा बढी सञ्चालन घाटा ब्यहोर्नु परेको देखिन्छ। यस त्रैमासिकमा कम्पनीले कुल ८० हजार ८५६ वटा गाडी बिक्री गरेको छ, जसको अर्थ कम्पनीले प्रत्येक गाडी बिक्री गर्दा औसतमा ८ लाख ५५ हजार रुपैयाँ घाटा खाएको छ। गत वर्षको पहिलो त्रैमासिकमा कम्पनीलाई प्रतिगाडी ९०० डलर (करीब १ लाख ३० हजार रुपैयाँ) मात्र घाटा भएको थियो।

यस वर्षको पहिलो त्रैमासिकमा शाओमीले ८० हजार ८५६ वटा नयाँ गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ। यो सङ्ख्या सन् २०२५ को सोही अवधिमा हस्तान्तरण गरिएका ७५ हजार ८६९ गाडीको तुलनामा ६ दशमलव ६ प्रतिशतले बढी हो।

विशेषगरी स्मार्ट विद्युतीय गाडीबाट मात्रै १९ अर्ब युआन अर्थात् ४ खर्ब २३ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ, जहाँ प्रतिगाडीको औसत बिक्री मूल्य झन्डै २ लाख ३५ हजार युआन रहेको छ।

पहिलो पुस्ताको एसयू ७ श्रृंखलाको उत्पादन बन्द हुनु र बजारमा यसको आपूर्ति कम हुनुका बाबजुद पनि कम्पनीले वार्षिक रूपमा वृद्धि हासिल गरेको जनाएको छ। यो सफलता मुख्यतः नयाँ वाईयू ७ श्रृंखलाले बजारमा पाएको साथले सम्भव भएको हो।

गत मार्च महिनामा सार्वजनिक गरिएको नयाँ पुस्ताको एसयू ७ गाडीका लागि तीन साता अघि नै ८० हजारभन्दा बढीले वैधानिक रूपमा बुकिङ गरिसकेका छन्। अर्कोतर्फ, वाईयू ७ श्रृंखला बजारमा आएको १० महिनाभित्रै कुल २ लाख ३२ हजार वटा गाडी हस्तान्तरण भइसकेका छन्।

मूल्य निर्धारणको कुरा गर्दा, हालै चार दिन अघिमात्रै सार्वजनिक गरिएको वाईयू ७ जीटीको प्रारम्भिक मूल्य ३ लाख ८९ हजार ९०० युआन अर्थात् ८६ लाख ९४ हजार रुपैयाँ तोकिएको छ भने वाईयू ७ को साधारण संस्करणको सुरुवाती मूल्य २ लाख ३३ हजार ५०० युआन अर्थात् ५२ लाख रुपैयाँ रहेको छ।

यो व्यावसायिक वृद्धिलाई थप बल पुर्‍याउन शाओमीले मार्च ३१ सम्ममा मुख्य भूमि चीनका १४३ सहरहरूमा आफ्ना खुद्रा बिक्री केन्द्रहरूको सङ्ख्या बढाएर ४९० पुर्‍याएको छ।

आम्दानी बढे पनि यो त्रैमासिकमा गाडी उत्पादन क्षेत्रले नाफा कमाउने सन्दर्भमा ठुलो चुनौतीको सामना गर्नु परेको छ। स्मार्ट इभी र एआई नवप्रवर्तन क्षेत्रको कुल नाफाको अनुपात गत वर्षको सोही अवधिको २३ दशमलव २ प्रतिशतबाट घटेर यस पटक २० दशमलव १ प्रतिशतमा खुम्चिएको छ।

कम्पनीका अनुसार गाडी खरिदमा दिइने कर अनुदान, बढी नाफा दिने एसयू ७ अल्ट्रा गाडीको कम आपूर्ति र मुख्य पाटपुर्जाहरूको बढ्दो लागतका कारण यो गिरावट आएको हो। जसका कारण यस क्षेत्रले ३ अर्ब १० करोड युआनको सञ्चालन घाटा ब्यहोर्नु पर्‍यो।

तर भर्खरै सञ्चालक समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत अप्रिल महिनामा मात्रै शाओमीले ३६ हजार ७०२ वटा कार बिक्री गरेको छ, जुन गत वर्षको तुलनामा २८ दशमलव ४ प्रतिशत र अघिल्लो महिनाको तुलनामा ७१ दशमलव २ प्रतिशतको उत्साहजनक वृद्धि हो।