इजरायल रोजगारीको तेस्रो ब्याच खुला: २३ सय केयरगिभर माग, मासिक तलब साढे ३ लाख - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

इजरायल रोजगारीको तेस्रो ब्याच खुला: २३ सय केयरगिभर माग, मासिक तलब साढे ३ लाख



काठमाडौँ। सन् २०२६ भित्रै इजरायलले नेपालबाट २३ सय जना सहायक श्रमिक (केयरगिभर) लैजाने भएको छ। काठमाडौँस्थित इजरायली दूतावास र वैदेशिक रोजगार विभागले छुट्टाछुट्टै सूचना जारी गर्दै दुई देशको सरकारी माध्यम (जीटुजी) बाट तेस्रो ब्याचका लागि यी श्रमिकहरू लैजान लागेको जनाएका हुन्।

विभागका अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आज बुधबारदेखि असार ७ गतेसम्म आवेदन दिन सक्नेछन्। माग गरिएका कुल श्रमिकमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छनोट हुनेछन्। छनोट भएका २३ सयमध्ये १ हजार जनालाई तत्कालै इजरायल पठाइने विभागले जनाएको छ।

१२ कक्षा उत्तीर्ण र तालिम अनिवार्य

यस पटक आवेदन दिनका लागि २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ भने कम्तीमा ४५ किलोग्राम तौल तोकिएको छ। शैक्षिक योग्यताको हकमा १० कक्षा उत्तीर्ण गरी अनमी (एएनएम) वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको हुनुपर्नेछ। अथवा, कक्षा १२ वा सोसरहको योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट केयरगिभिङसम्बन्धी ३ महिनाको तालिम लिएको हुनुपर्नेछ।

आवेदकले इजरायलले तोकेको अङ्ग्रेजी भाषा परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ, जसका लागि ‘सिन इन्टरनेशनल क्वालिफिकेशन प्रालि’ लाई परीक्षा लिने जिम्मा दिइएको छ।

मासिक तलब साढे ३ लाख, छनोट लक्की ड्रबाट

इजरायल जाने केयरगिभरको मासिक तलब ६ हजार ४ सय ४३ इजरायली मुद्रा (करिब ३ लाख ४७ हजार नेपाली रुपैयाँ) तोकिएको छ। यद्यपि, खाना र आवासको खर्च भने श्रमिक आफैँले बेहोर्नुपर्नेछ। इजरायल जाने सबै लागत शुल्क श्रमिककै हुनेछ भने उनीहरूको करार अवधि ५ वर्षको रहनेछ।

योग्यता पुगेका र भाषा परीक्षा उत्तीर्ण गरेका उम्मेदवारहरूमध्येबाट अन्तिम छनोट भने ‘लक्की ड्र’ (गोलाप्रथा) बाट गरिनेछ। छानिएका श्रमिकले इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा गम्भीर शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्तिको स्याहारको काम गर्नुपर्नेछ।

पुराना आवेदकलाई मौका र दलालबाट बच्न चेतावनी

इजरायली दूतावासका अनुसार यसअघि सन् २०२४ को दोस्रो ब्याचको गोलाप्रथामा छानिन नसकेका (लोटरी-आउट भएका) योग्य पुराना आवेदकहरूले पनि यस पटकको नयाँ प्रक्रियामा पुनः प्रतिस्पर्धा गर्न पाउनेछन्। अघिल्लो छनोट प्रक्रियाबाट २ हजार ११२ जना मात्र छानिएका थिए।

यसैबिच, इजरायल रोजगारीको प्रलोभन देखाई विभिन्न व्यक्ति, एजेन्ट वा दलालहरूले ठगी गर्न सक्ने भन्दै दूतावास र विभाग दुवैले कडा चेतावनी दिएका छन्। सम्पूर्ण भर्ना प्रक्रिया पूर्ण रूपमा निष्पक्ष, पारदर्शी र कानुनी रूपमा मात्र सम्पन्न हुने भएकाले कसैको भ्रममा नपरी सरकारी सूचनालाई मात्र आधार मान्न आग्रह गरिएको छ।


प्रतिक्रिया दिनुहोस्