किष्ट शिक्षण अस्पतालमा २०० भन्दा बढी अंगदाता सम्मानित
काठमाडाैं । किष्ट शिक्षण अस्पताल अन्तर्गत रहेको किष्ट प्रत्यारोपण केन्द्रले “अंगदाता सम्मान कार्यक्रम” भव्य रूपमा सम्पन्न गरेकाे छ।
मानव जीवन बचाउने महान कार्यमा योगदान पुयाउने अंगदाताहरूको सम्मान तथा कृतज्ञता व्यक्त गर्ने उद्देश्यले आज १४ जेठ आयोजित कार्यक्रममा २०० भन्दा बढी अंगदाताहरूलाई सम्मान गरिएको थियो।
निजि अस्पतालहरु मध्ये सबै भन्दा धेरै अङ्ग प्रत्यारोपण गर्नेमा किष्ट शिक्षण अस्पताल रहेको छ । कार्यक्रमको उद्घाटन ललितपुर महानगरपालिकाका नगर प्रमुख एवं उपत्यका- मेयर फोरमका अध्यक्ष चिरीबाबु महर्जनले गरे।
विगत पाँच वर्षदेखि ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल निजी क्षेत्रमै उच्च सफलता दर सहित प्रत्यारोपण सेवामा अग्रणी रहँदै आएको छ। अस्पतालले हालसम्म मिर्गौला प्रत्यारोपण २०२ जना तथा कलेजो प्रत्यारोपण १५ जनामा सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरी बिरामीहरूलाई “दोस्रो जीवन” प्रदान गरेको उल्लेख गरेको छ।
किष्ट शिक्षण अस्पतालले आफ्नो सेवाको गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरको मान्यता दिलाउँदै NABH बाट प्रमाणीकरण प्राप्त गरेको छ। यस उपलब्धिलाई दिगो बनाउन अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एकैसाथ गरिने मिर्गौला र कलेजो प्रत्यारोपण, दुई परिवारबीच आपसी सहमतिमा अंगदान गरी गरिने प्रत्यारोपण तथा उच्च प्राविधिकको दुरबिन प्रबिधि (ल्याप्राेस्काेपी ट्रान्सप्लान्ट) प्रक्रियाबाट अस्पतालले सफलतापूर्वक प्रत्यारोपण सल्यकृया सम्पन्न गर्दै आएको छ ।
नेपालको सन्दर्भमा ड्युल ट्रान्सप्लान्ट शल्यकृया किष्ट शिक्षण अस्पतालले पहिलो पटक सम्पन्न गरेको हो; जसको व्याख्या स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट बि.स. ०७९/८० मा प्रकाशित नेश्नल जाेइन्ट एन्युअल रिभ्यु रिपाेर्टमा समेत उल्लेख भएको छ।
अस्पतालका अनुसार हालसम्म प्रत्यारोपण गरिएका बिरामीहरू मध्ये सबैभन्दा बढी उमेर ८० बर्षिय बिरामी तथा सबैभन्दा कम उमेर १९ वर्षका बिरामी रहेका छन्, जसले प्रत्यारोपण सेवाको पहुँच र प्रभावकारिता दुवैलाई फराकिलो बनाएको छ। ८० बर्षिय महिला जसमा क्यान्सर रोग पहिचान भएको तर चिकित्सकीय रुपमा दान दिन योग्य हुँदा वहाँको अङ्ग दान बाट वहाँको आफन्तको जीवन बाँच्न सफल भएको छ ।
कार्यक्रममा वक्ताहरूले अंगदानलाई जीवनदानको महान कार्यको रूपमा व्याख्या गर्दै समाजमा अंगदान सम्बन्धी सचेतना अझ विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए । अंगदाताहरूको निस्वार्थ योगदानले धेरै बिरामीहरूको जीवनमा नयाँ आशा र ऊर्जा थपेको उल्लेख गर्दै अस्पतालले सम्पूर्ण अंगदाता तथा उनीहरूका परिवारप्रति विशेष सम्मान व्यक्त गरेको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, स्वास्थ्यकर्मी, प्रत्यारोपण विशेषज्ञ, बिरामी तथा अंगदाताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । उपत्यकाका अधिकांश नगर प्रमुखहरूको गरिमामय उपस्थिति रहेको थियो भने नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो ।













