देशैभर भव्यताका साथ मनाइयो १९औँ गणतन्त्र दिवस - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

देशैभर भव्यताका साथ मनाइयो १९औँ गणतन्त्र दिवस



काठमाडौं । नेपालमा आज भव्यताका साथ १९औँ गणतन्त्र दिवस मनाइएको छ । वि.सं. २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष आजकै दिन यो दिवस राष्ट्रिय उत्सवका रूपमा मनाइन्छ ।

गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विशेष सैनिक तथा सांस्कृतिक समारोहको आयोजना गरियो। उक्त राष्ट्रिय समारोहमा सम्माननीय राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आकर्षक सैनिक कवाज प्रदर्शन गर्नुका साथै देशका विभिन्न जातजातिका सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएको थियो। सो अवसरमा सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरी उत्सवको रौनक थपिएको थियो ।

दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण नेपाली नागरिकहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

गणतन्त्र दिवसको अवसरमा काठमाडौँ उपत्यका बाहिरका सातै प्रदेश तथा स्थानीय तहमा पनि विभिन्न रचनात्मक कार्यक्रमहरू आयोजना गरिएका छन् । साँझ सरकारी कार्यालय तथा सार्वजनिक स्थलहरूमा दिपावली समेत गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्