बजेट बोक्ने परम्परा तोड्दै अर्थमन्त्री वाग्ले, सुटकेस र झोलाको सट्टा नेपाली कागजको फाइल प्रयोग
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारीमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्षौँदेखि चल्दै आएको बजेट बोक्ने परम्परागत शैलीमा परिवर्तन गरेका छन् । यसअघिका अर्थमन्त्रीहरूले संसद्मा बजेट वक्तव्य लैजाँदा रातो सुटकेस वा अल्लोबाट बनेको झोला बोक्ने गरेका थिए । तर, यसपटक अर्थमन्त्री वाग्लेले ती सबै पुराना ब्याग र झोलाहरूलाई छोडेर स्वदेशी पहिचान झल्किने नयाँ सुरुवात गरेका हुन् । उनले यस वर्षको बजेट वक्तव्यलाई कुनै झोलामा नराखी मौलिक नेपाली कागजमा बेरेर फाइलको रूपमा तयार पारेका छन् ।
बजेट सार्वजनिक गर्नुअघि मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत गराउनुपर्ने प्रावधान अनुसार अर्थमन्त्री वाग्ले केहीबेर अघि अर्थमन्त्रालयबाट सोही नेपाली कागजमा बेरिएको बजेट फाइलसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ प्रस्थान गरिसकेका छन् । मन्त्रालयबाट बाहिरिँदा उनको हातमा परम्परागत ब्यागको सट्टा नेपाली कागजको फाइल मात्र देखिएको थियो । स्वदेशी उत्पादन र मौलिकतालाई प्रवद्र्धन गर्ने उद्देश्यले उनले यो कदम चालेको बुझिएको छ ।
मौलिकता झल्काउने अर्थमन्त्री वाग्लेको यो प्रयास बजेट वक्तव्यमा मात्र सीमित छैन । उनले यसअघि सार्वजनिक गरेको देशको आर्थिक सर्वेक्षणको आवरण (कभर) पनि नेपाली कागजकै रङ र स्वरूपमा तयार पारेका थिए । आर्थिक सर्वेक्षणकै निरन्तरता स्वरूप बजेटलाई पनि नेपाली कागजमा बेरेर प्रस्तुत गर्नुलाई धेरैले सरकारी कामकाजमा स्वदेशी सामग्रीको उपयोग बढाउने एउगा सकारात्मक र प्रतिकात्मक सन्देशका रूपमा लिएका छन् ।
















