आगामी आगमा १ हजार किलोमिटर सडक कालोपत्र गर्ने सरकारकाे घोषणा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आगामी आगमा १ हजार किलोमिटर सडक कालोपत्र गर्ने सरकारकाे घोषणा



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा देशका विभिन्न क्षेत्रमा गरी १ हजार किलोमिटर सडक कालोपत्र गर्ने घोषणा गरेको छ। संघीय संसद्‍मा आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भौतिक पूर्वाधार विकासतर्फ यस्तो घोषणा गरेका हुन्।

आगामी आर्थिक वर्षभित्रै २ सय वटा सडक पुल निर्माण कार्य सम्पन्न गरिने अर्थमन्त्री डा. वाग्लेले बताए। सरकारले देशको मेरुदण्डका रूपमा रहेको पूर्व–पश्चिम राजमार्गलाई आगामी ५ वर्षभित्र चार लेनमा विस्तार गर्ने काम सम्पन्न गर्ने लक्ष्य राखेको उनले जानकारी दिए।

यसै वर्षभित्र नारायणगढ–बुटवल र कमला–कन्चनपुर खण्डको निर्माण कार्य सम्पन्न गरिने उनले स्पष्ट पारे। यसैगरी आगामी दुई वर्षभित्र थप ८० किलोमिटर सडक निर्माण सकिने उनको भनाइ छ। पूर्व–पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि सरकारले ३७ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री डा. वाग्लेले बताए।

राष्ट्रिय गौरवका तथा अन्य रणनीतिक सडकहरूका लागि पनि बजेटमा विशेष प्राथमिकता दिइएको छ। काठमाडौं-तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत ४० वटा पुल र ४ वटा सुरुङमार्ग निर्माणका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए।

यस्तै, हुलाकी राजमार्गका लागि ४ अर्ब ६५ करोड, कर्णाली राजमार्गका लागि १ अर्ब र मध्यपहाडी (पुष्पलाल) लोकमार्गका लागि २ अर्ब १६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. वाग्लेले बताए।


प्रतिक्रिया दिनुहोस्