गौतमबुद्ध र पोखरा विमानस्थल चलाउन सरकारले गुहार्यो निजी क्षेत्र, निजगढको मोडालिटी ६ महिनाभित्र टुङ्ग्याइने
काठमाडौं । सरकारले देशको हवाई यातायात क्षेत्रको सुधार र विमानस्थलहरूको स्तरोन्नतिका लागि आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विशेष योजनाहरू अघि सारेको छ।
संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक उड्डयन क्षेत्रका लागि २ अर्ब ९३ करोड रुपैयाँ र संस्कृति तथा पर्यटन क्षेत्रका लागि ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको घोषणा गरेका छन्।
त्रिभुवन विमानस्थललाई १ अर्ब ५३ करोड, निजगढको मोडालिटी ६ महिनामा टुङ्गिने
मुलुकको प्रमुख हवाई क्षेत्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति र क्षमता विस्तारका लागि सरकारले १ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ।
लामो समयदेखि चर्चामा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई अघि बढाउन आगामी ६ महिनाभित्र यसको निर्माण मोडालिटी (ढर्रा) यकिन गरिसक्ने घोषणा अर्थमन्त्री डा. वाग्लेले गरे।
पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा निजी क्षेत्रसँग सहकार्य
पूर्ण रूपमा सञ्चालनमा आउन नसकेका दुईवटा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरू, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक व्यवस्थापन र सञ्चालनका लागि सरकारले नयाँ नीति लिएको छ। यी दुवै विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न निजी क्षेत्रसँग सहकार्य गरिने बजेटमा उल्लेख छ।
यता आन्तरिक हवाई सञ्जाललाई थप सुदृढ बनाउन चितवनको भरतपुर विमानस्थललाई विस्तार गरी रात्रिकालीन उडान सञ्चालन योग्य बनाइने घोषणा गरिएको छ।
प्रदेश सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थलको विस्तार गरिने तथा मुगुको ताल्चा र दाङको टरिगाउँ विमानस्थलको स्तरोन्नति गरिने अर्थमन्त्री डा. वाग्लेले जानकारी दिए।
















