आगामी वर्षको बजेटले अर्थतन्त्रलाई पुनः चलायमान बनाउने सिबिफिनको ठहर
आगामी वर्षको बजेटले अर्थतन्त्रलाई पुनः चलायमान बनाउने सिबिफिनको ठहर
काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटको स्वागत गरेको छ।
बजेटमार्फत आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोबल अभिवृद्धि, लगानी प्रवर्द्धन तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि अघि सारिएका नीतिगत र संरचनागत सुधारका पहलहरू सकारात्मक रहेको भन्दै सिबिफिनले यसको समर्थन गरेको हो।
लामो समयदेखि मुलुकको अर्थतन्त्र सुषुप्त अवस्थामा रहेको, निजी क्षेत्रको आत्मविश्वास कमजोर बनेको र लगानीकर्तामा ‘पर्ख र हेर’ को मनोवृत्ति देखिएको परिप्रेक्ष्यमा यो बजेट आएको सिबिफिनले उल्लेख गरेको छ।
बैंकिङ क्षेत्रबाट अपेक्षित कर्जा विस्तार हुन नसकेको र खराब कर्जाको चुनौती बढिरहेको वर्तमान सन्दर्भमा बजेटले आर्थिक गतिविधिहरूलाई पुनः चलायमान बनाउने आशा र विश्वासको नयाँ आधार सिर्जना गरेको सिबिफिनको ठहर छ।
विशेषगरी बैंकिङ क्षेत्रमा निकै चुनौतीपूर्ण बन्दै गएको खराब कर्जा तथा गैर-बैंकिङ सम्पत्तिको कुशल व्यवस्थापनका लागि विशेष अधिकारयुक्त ‘राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी’ स्थापना गरिने ऐतिहासिक घोषणालाई सिबिफिनले दूरदर्शी, सकारात्मक र समयसापेक्ष कदमका रूपमा लिएको छ।
यसबाहेक कर प्रणालीमा गरिएको सुधार, उद्योग व्यवसायलाई प्रदान गरिएका सहुलियत, डिजिटल अर्थतन्त्रको प्रवर्द्धन, प्रविधि तथा पूर्वाधार विकासमा प्राथमिकता र ऊर्जा क्षेत्रको विकासमा दिइएको जोडलाई समेत उसले प्रसंशा गरेको छ।
बजेटले निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख साझेदार र संवाहकको रूपमा आत्मसाथ गर्दै लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा वित्तीय पहुँच विस्तारलाई प्राथमिकतामा राखेको सिबिफिनको भनाइ छ। व्यक्तिगत आयकरमा छुटको सीमामा गरिएको वृद्धि, करको दरमा पुनरावलोकन, औद्योगिक कच्चा पदार्थमा भन्सार सहजीकरण तथा वैकल्पिक वित्तीय उपकरणमार्फत पुँजी परिचालनका व्यवस्थाहरूले समग्र आर्थिक गतिविधिमा सकारात्मक ऊर्जा सञ्चार गर्ने विश्वास विज्ञप्तिमा व्यक्त गरिएको छ।
बजेटमा उल्लेखित जनमुखी र विकासमुखी नीति तथा कार्यक्रमहरूको प्रभावकारी र परिणाममुखी कार्यान्वयनका लागि नीतिगत स्थायित्वसहित निजी क्षेत्रसँगको सहकार्यलाई केन्द्रविन्दुमा राखेर अघि बढ्न सिबिफिनले सरकारसँग आग्रह गरेको छ।
साथै, आर्थिक पुनरुत्थान, वित्तीय क्षेत्रको स्थायित्व, लगानी विस्तार र आत्मनिर्भर अर्थतन्त्र निर्माणको कार्यमा सरकारसँग निकट सहकार्य गर्दै अभिन्न सहयोगीको भूमिका निर्वाह गर्न आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको समेत सिबिफिनले प्रस्ट पारेको छ।













